काठमाडौं- बाग्मती खेलकुद विकास परिषद्ले प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रदेशकै सबैभन्दा ठूलो कार्यक्रमको रुपमा विगत दुई वर्षदेखि नै आयोजनाको तयारी गरिएको उक्त प्रतियोगिता आगामी पुस महिनादेखि माघसम्म सञ्चालन हुने भएको छ।
यहि असोज १५ गते प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीको अध्यक्षतामा बसेको परिषद् बैठकले गरेका निर्णयहरु शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको हो।
प्रदेश खेलकुद विकास परिषद्को विनियोजित रु दुई करोड र थप रु चार करोड ५४ लाख प्रदेश सरकारसँग माग गरी जम्मा ६ करोड ५४ लाखको कुल लागत अनुमान स्वीकृत गरिएको छ। स्थानीय, जिल्ला र प्रदेश गरी तीन चरणमा हुने उक्त प्रतियोगितामा प्रदेशका प्राथमिकता प्राप्त खेलहरु फुटबल, भलिबल, कृकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, ब्याडमिन्टन समाबेश हुनेछन्।
उक्त प्रतियोगिताको लागि स्थानीय तहले प्रतियोगिता वा छनोटमार्फत टिम तयार गरी जिल्ला प्रतियोगिताको लागि सहभागी पठाउनु पर्नेछ भने प्रत्येक जिल्लाले जिल्ला प्रतियोगिताको लागि रु आठ लाखको दरले अनुदान प्राप्त गर्नेछन्। जिल्ला टिममा व्यक्तिगत स्पर्धामा खेलिने खेलबाट विजेता खेलाडीलाई खेलाइने छ भने समूह खेलमा विजेता र अन्य टिमका पनि उत्कृष्ट खेलाडीमध्येबाट जिल्ला टिम तयार गरी प्रदेशमा सहभागी गराइने छ।
आगामी फागुनदेखि हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी प्रदेशले आफ्नो टिम तयारीको लागि पनि नवौं राष्ट्रिय खेलकुद भन्दा पहिले नै प्रदेश खेलकुद सम्पन्न गर्ने तयारी गरेको हो। प्रतियोगितामा सबै खेलका महिला र पुरुष टिम सहभागी हुनेछन् भने क्रिकेटको चाहिँ पुरुष टिमले मात्रै सहभागीता जनाउने छ।
करिब एक महिनासम्म चल्ने प्रदेश खेलकुद प्रतियोगिता प्रदेशका १३ वटै जिल्ला लाई समेट्ने गरि आयोजना गरिने कुरा परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले बताए।
पर्यटकीय सिजनमा साहसिक तथा पर्यटकीय खेलकुद हुने प्रदेश खेलकुद बिकास परिषद्ले नेपालको पर्यटकीय सिजन कात्तिक र मंसिरको दोश्रो हप्ता सम्ममा तीन वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।
आगामी कात्तिक १३ गते विश्वमै पहिलोपटक दोलखाको चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगीता आयोजना गरिनेछ।
परिषद्ले यसै बर्ष प्रदेश फुटबल लिग आयोजना गर्न र सहिद स्मारक ए डिभिजन लिगमा लागत साझेदारी गर्न रु एक करोडको सम्झौता गरिसकेको छ।
परिषद् बैठकले यो वर्ष खेलाडीले सहभागीता, सम्मान, पारा खेलकुद र खेल सामग्री खर्च भुक्तानीजस्ता कार्यक्रम गर्ने भण्डारीले बताए।