काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया चलिरहेको छ। कतै वडा अधिवेशन, कतै पालिका त कतै जिल्ला अधिवेशनको नतिजा आइसकेको छ। १३ वटा जिल्लामा वडा तहको अधिवेशन सुरु हुन सकेको छैन। तीमध्ये पाँच जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन बाँकी छ।
अहिलेसम्म १३ हिमाली जिल्लाले नयाँ नेतृत्व पाएको छ। मुस्ताङ, मनाङ, रुकुमपूर्व, हुम्ला, ताप्लेजुङ, रामेछाप, कालीकोट, संखुवासभा, गोरखा, दोलखा, मुगु, बाजुरा र बझाङमा कांग्रेसका जिल्ला सभापति चयन भएका छन्।
१३ जिल्लाको मत परिणाम आउँदा जिल्ला सभापतिमा संस्थापन इतर समूह अगाडि छ। संस्थापन इतर समूहले सात जिल्लामा सभापति जितेको छ भने संस्थापन समूहले ६ जिल्ला सभापति जितेको छ। संस्थापन इतरबाट मुस्ताङमा रोमी गौचन थकाली, रुकुमपूर्वमा केशरमान रोका, कालीकोटमा अम्बरबहादुर शाही, संखुवासभामा दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने, दोलखामा बर्मा लामा र बाजुरामा रामसिंह रावल सभापति निर्वाचित भएका छन्।
संस्थापन समूहबाट मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह, ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याहाङ, रामेछापमा पूर्णबहादुर (कान्छाराम) तामाङ र मुगुमा ऐनबहादुर शाही र बझाङमा खडकबहादुर बोहरा सभापति निर्वाचित भएका छन्।
फेरिएको समीकरण
कांग्रेस अधिवेशनको सुरुवाती मतपरिणाम हेर्दा कार्यकर्ताले नेतृत्वको निरन्तरता होइन परिवर्तन खोजेको संकेत देखिएको छ। १३ औं महाविधेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल निकटले सभापति जितेका जिल्लामा यस पटक सभापति शेरबहादुर देउवा समूहले बाजी मारेको छ। यस्तै १३ औं अधिवेशनमा देउवा समूहले सभापति जितेको जिल्लामा यसपटक पौडेल समूह नेतृत्वमा आएको छ।
ती जिल्लामा रामेछाप, मुगु, ताप्लेजुङ, गोरखा, रुकुमपूर्व, संखुवासभा, कालीकोट र मुस्ताङ छन्। रामेछापमा अघिल्लो महाधिवेशनबाट पौडेल पक्षका लवश्री न्यौपाने सभापति थिए। तर, यसपटक देउवा समूहका कान्छाराम तामाङ नेतृत्वमा आएका छन्।
मुगुमा १३ औं महाधिवेशनमा पौडेल पक्षका दीपबहादुर शाही सभापति निर्वाचित भएका थिए। तर, यसपटक देउवा समूहले नेतृत्व खोसेको छ। देउवा समूहका ऐनबहादुर शाही सभापति निर्वाचित भएका छन्।
यसपटक पौडेल समूहले ताप्लेजुङ पनि गुमाएको छ। अघिल्लो महाधिवेशनमा ताप्लेजुङमा पौडेल पक्षकी लीला बोखिम सभापति निर्वाचित भएकी थिइन्। तर, यसपटक देउवा समूहका गजेन्द्रप्रसाद तुम्याहाङ सभापतिमा निर्वाचित भएका छन्। यसरी हेर्दा अघिल्लो महाधिवेशनमा जितेका तीन जिल्ला पौडेल समूहले गुमाएको छ।
हुम्लामा भने अघिल्लो पटक पनि देउवा समूहले सभापति जितेको थियो। जुन यसपटक पनि कायमै रह्यो। अघिल्लो पटक पौडेल पक्षले सभापति जितेको रुकुम पूर्व, संखुवासभा, कालीकोट र मुस्ताङमा पनि सभापति जितेको छ।
बाजुराको परिणामले पौडेल उत्साही
देउवाको गढ मानिएको बाजुरामा आफू पक्षीय नेता सभापतिमा निर्वाचित भएपछि वरिष्ठ नेता पौडेल उत्साही बनेका छन्। सभापतिमा निर्वाचित रावलले निवर्तमान सभापति कविराज पण्डितलाई हराएर सभापति निर्वाचित भएका थिए।
बाजुराको मत परिणामले परिवर्तनको आभास दिलाएको भन्दै पौडेलले खुसी व्यक्त गरेका छन्। उनले सुदूरपश्चिममा पनि परिवर्तन सम्भव रहेको टिप्पणी गरेका छन्। ‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ’ वरिष्ठ नेता पौडेलले सामाजिक सञ्जालमा भनेका छन्, ‘बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेलधुराले सन्देश दिइसक्यो।’