काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको क्याबिनेटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका छन् प्रेमबहादुर आले। उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन्।
देउवा सरकार बन्नुअघिको केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी वन तथा वातावरण मन्त्री बनेका थिए। २०७७ पुस १२ गते ओलीले आलेलाई वन मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए। तर, मन्त्री बनेको ६ महिनामै उनी हटाइए। उनको ठाउँमा २०७८ जेठ २१ गते ओलीले एकवाल मियाँलाई वन मन्त्रालयको जिम्मेवारी दिए।
सुदूरपश्चिममा ओलीका विश्वासपात्र रहेका आले मन्त्री पद गुमेसँगै असन्तुष्ट हुन पुगे। त्यही समयमा एमालेभित्रको अन्तरसंघर्ष उत्कर्षमा पुगेको थियो। माधव नेपाल समूहले समानान्तर गतिविधि गरिरहेको थियो। तर, त्यहीबीचमा नेपालका विश्वासपात्र मानिने भीम रावल ओलीको सामीप्यमा पुगे। उनी पार्टी एक गराउन वार्ता कार्यदलको संयोजकको रूपमा एमाले मिलाउने वार्तामा जुटे।
सुदूरपश्चिमको राजनीतिमा परस्पर विरोधी रावल ओलीसँग नजिकिएपछि आलेका लागि कोटेश्वरसँग नजिक हुने अवसर मिल्यो। भर्खरै प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवा संसद्बाट विश्वासको मत लिने तयारीमा थिए। र, देउवा प्रधामन्त्रीमा हुनुअघि एमाले विवाद मिलाउन गठित कार्यदलले १० बुँदे सहमति गरिसकेको थियो। र, उक्त सहमतिमा नेता नेपाल सन्तुष्ट थिएनन्। रावलले धोका दिने संकेत पाएका नेपाललाई आलेले ६ देखि १० जना सांसद जुटाइदिने बचन दिए।
‘रावलले छोडेर केही फरक पर्दैन। कति जना सांसदले तपाईको साथ छोड्छन्, म त्यसको परिपूर्ति गरिदिन्छु,’ आलेले नेपाललाई भनेका थिए। त्यसो त देउवा प्रधानमन्त्री नियुक्त हुनेवित्तिकै बूढानिलकण्ठ पुगेर उनले ८ जना सांसदको समर्थन जुटाइदिने बचन दिएका थिए। नभन्दै नेपाल र देउवालाई दिएको बचन साउन ३ गते विश्वासको मत लिँदा प्रमाणित गरे।
आले सहितका ८ जनाले फ्लोर क्रस गरे र देउवालाई विश्वासको मत दिए। बरू देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग सहित अदालत पुगेका नेपाल निकट सांसदहरुले भने विश्वासको मत दिएनन्। संसदमा देउवालाई विश्वासको मत दिएपछि ओलीसँग आलेसहितका सांसदहरु टाढा भइसकेका थिए। त्यसपछि उनीहरुले नेता नेपालाई साथ दिइरहे। भदौ ९ गते नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भयो।
ओली नेपालकै पार्टीमा क्रियाशील रहे। मन्त्री पद गुमेपछि असन्तुष्ट बनेर ओलीको साथ छोडेर पुनः सोही पदमा फर्किएका छन्। फरक यत्ति छ– एमालेबाट होइन समाजवादीको सिफारिसमा वनमन्त्रीको ठाउँमा पर्यटनमन्त्री बनेका छन्। उनीसँगै नेपालको कित्तामा खुलेका किसान श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन्।