काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश चोलन्द्रशमर जबरालाई समेत भाग दिएका छन्। प्रधानन्यायाधीश राणाको सिफारिसमा गजेन्द्र हमाल वाणिज्य तथा आपूर्तिमन्त्री बनेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पठाएको मन्त्रीको सूचीमा हमाललाई वाणिज्यमन्त्रीका रूपमा सिफारिस गरिएको छ।
केही समययता प्रधानन्यायाधीशले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको समाचार सार्वजनिक भएका थिए। तर, प्रधानन्यायाधीश राणाले भने आफूले भाग नखोजेको स्पष्टोक्ता दिएका थिए। असोज १८ गते सर्वोच्च बार एसोसिएसनका पदाधिकारीले मन्त्रिपरिषद्मा भाग खोजेको भनेर प्रकाशित भएपछि राणासँग जवाफ मागेका थिए। राणाले भनेका थिए, ‘जुन नाम आएको छ, एउटा दीपक तिमल्सिनाको आयो। अर्को गजेन्द्र हमालको नाम आयो। गजेन्द्र हमाल भनेको त शेरबहादुर सरहका कांग्रेस नेता हुन् नि। उसँग मलाई जोड्न पर्छ र? उसलाई मैले बनाउनुपर्छ र, मैले बनाएर बन्ने हुन्छ र?’
बाँकेबाट नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित भएका हमाल कांग्रेसमा सक्रिय छन्। यद्यपित उनी नेपालगन्जभन्दा काठमाडौंमा धेरै बस्छन्। नातामा प्रधानन्यायाधीश चोलेन्द्र राणा गजेन्द्रका भिनाजु पर्छन्।
लगत्तै सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विज्ञप्ति निकालेर समाचारको खण्डनसमेत गरेका थिए। सर्वोच्चको विज्ञप्तिमा प्रधानन्यायाधीशलाई जोडेर अतिरन्जित र भ्रामक समचार सम्प्रेण भएको उल्लेख थियो। तर, प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा राणासँग नाम जोडिएका हमाल मन्त्री बनेका छन्।
को हुन् हमाल?
प्रधानन्यायाधीश राणासँग नाम जोडिएर वाणिज्यमन्त्री बनेका हमालले कांग्रेसको राजनीति गर्दै आएका छन्। उनी कांग्रेस बाँकेका पूर्वसभापतिसमेत हुन्। हमाल नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका थिए। २०२७ सालमा नेविसंघ बाँकेको उपाध्यक्ष भएका हमाल २०३१ सालमा नेविसंघ बाँकेको अध्यक्ष बनेका थिए। उनी पञ्चायतकालमा एक दशकभन्दा लामो समय कांग्रेस बाँकेका सभापति रहेका भाइराजा हमालका साइँला भाइ हुन्।
गजेन्द्र गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालगायत नेपालगन्ज आउजाउ गर्दा सधैं उनीहरुका साथमा हुन्थे। नेविसंघको राजनीति देखि नै उनी प्रधानमन्त्री देउवा निकट थिए।
२०५२ सालमा नेपाली कांग्रेस बाँकेको सभापति बनेका उनलाई सुशील कोइरालाले देउवा निकट भएकै कारण गजेन्द्रलाई हटाएर कृष्णमान श्रेष्ठलाई बाँके कांग्रेस सभापति बनाएका थिए।
हमालले पार्टी विभाजनका बेलामा समेत देउवालाई साथ दिएका थिए। देउवाले कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएपछि हमाल चार वर्ष सोही पार्टीको सभापति बनेका थिए। देउवाको कोटाबाट २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा उनले बाँके– १ बाट टिकट पाएका थिए। तर, उनी निर्वाचित भने हुन सकेनन्। त्यसपछि उनी हिन्दु राष्ट्रका पक्षमा सक्रिय भए। उनले हिन्दु राज्यका पक्षमा अभियान नै चलाउँदै आएका थिए।
बाँकेबाट नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित भएका हमाल कांग्रेसमा सक्रिय छन्। यद्यपित उनी नेपालगन्जभन्दा काठमाडौंमा धेरै बस्छन्। नातामा प्रधानन्यायाधीश चोलेन्द्र राणा गजेन्द्रका भिनाजु पर्छन्। उनी राणाको कोटामा मन्त्री बन्न लागेको समाचार बाहिरिएपछि उनले आफू देउवासँग नजिक रहेर काम गरिरहेकाले राणाको सहयोग नचाहिने बताउँदै आएका थिए। देउवा निकट भएकै कारण सुशील कोइरालाबाट पेलिएकाले देउवाले चाहेपछि मन्त्री बन्न गाह्रो नहुने बताउँदै आएका थिए।