काठमाडौं- रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह एफ बाट स्विडेन र मेक्सिको अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समुह चरणको अन्तिम खेलमा मेक्सिकोविरुद्ध अपत्यारिलो नतिजा निकाल्दै स्विडेन समुह विजेतका रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । मेक्सिको भने स्विडेनसंग ३-० गोलअन्तरले पराजित भएपनि समुह उपविजेतका रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।
बुधबार राती भएको खेलमा स्विडेन मेक्सिकोमाथि हाबी भएको थियो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको स्वीडेनले दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । स्वीडेनले खेलको ५० औं मिनेटमा गोल गर्दै १-० गोलको अग्रता बनाएको थियो ।
स्वीडेनले एकपछि अर्को राम्रो प्रदर्शन गर्दै खेलको ६२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै २-० गोलको अग्रता बनाएको थियो ।
खेलको ७४औं मिनेटमा मेक्सिकोका इड्सन अल्भरेजले आत्मघाती गोल गरेसँगै स्वीडेन ३-० गोलले विजयी बनेको हो ।
जितसंगै ६ अंकका साथ स्वीडेन समुह विजेता बन्दा हार बेहोरेको मेक्सिको पनि ६ अंककै साथ समुह उपविजेता बन्यो । यसै समुहमा रहेको जर्मनी कोरियासंग पराजित हुँदै समुह चरणबाटै बाहिरीएको छ भने कोरिया पनि अन्तिम १६ मा पुग्न असर्मथ रह्यो ।
एक खेलमा हार र एक खेलमा जीत हात पारेको जर्मनी समुह चरणको अन्तिम खेलमा कोरियासंग २-० ले पराजित भएपछि समुह चरणबाटै घर फर्किन बाध्य भएको हो । कोरियाले जर्मनीलाई पराजित गरेपनि दुई खेल गुमाइसकेकाले उ पनि समुह चरणबाटै बाहिरीएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४