पर्सा– पर्सामा शंकास्पद मृत्यु भएकी एक युवतीको शव प्रहरीले अन्त्येष्टि स्थलबाटै नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–१३ मुर्ली नयाँटोलस्थित कब्रिस्तानमा भारतीय युवतीको दाहसंस्कार गर्दागर्दै प्रहरीले शव नियन्त्रणमा लिएको छ। १४ वर्षीया किशोरीको शंकास्पद मृत्यु भएको सूचनाका आधारमा पुगेको टोलीले जयना प्रविन खातुनको शव नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
ती युवतीलाई बलात्कार गरेपछि अत्यधिक रक्तस्राव भएर मृत्यु भएको उजुरीका आधारमा शव नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए। प्रहरीका अनुसार युवतीको बलात्कार जगरनाथपुर गाउँपालिकाका जफिर मियाँले गरेको उजुरी परेको छ। मियाँ उक्त गाउँपालिकाका जालिम मियाँका भाइ हुन्।
भारतको पूर्वी चम्पारण इनर्वा घर भएकी युवती वीरगन्जमा परिवारका साथ बस्दै आएकी थिइन्। शंकास्पद मृत्यु भएको भन्ने सुचना पाएपछि बिहीबार शव नियन्त्रणमा लिन जाँदा अवरोध पुर्याएको र मलामीमा धेरै मानिसको उपस्थित हुनुपर्नेमा उनको परिवारबाहेक चार जना मात्रै उपस्थित रहेको प्रहरी प्रमुख पाण्डेले बताए।
प्रहरीले प्रविन खातुनका बुवा समसुल मियाँ, आमा सायादा खातुन भाइ जहागिर आलम, बहिनी मनचुन खातुन, जावेद आलमलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मृतक किशोरीको घाँटीमा नीलडाम देखिएको छ। शव पोस्टमार्टमका लागि नारायणी अञ्चल अस्पताल लगिएको छ।