दाङ- वर्षौदेखि खानेपानीको अभाव झेल्दै आएका दाङको राजपुर गाउँपालिका गंगदी नयाँ बस्तीका घरघरमा धारा पुगेको छ।
राजपुर ५ र ६ का ३ सय घरमा खानेपानीको धारा जडान भएको हो। योसँगै खानेपानीको समस्या टरेको छ। कार्यक्रम संयोजक जगत तामाङले आयोजनाबाट कम्तिमा पाँच सय धारा जडानको लक्ष्य लिइएको बताए। अब थप २ सय घरमा धारा जडान गरिनेछ।
राजपुर गाउँपालिका र रेडक्रसको १ करोड ६४ लाख लगानीमा खानेपानी आयोजना निर्माण भएर घरघरमा धारा जडान भएको हो।
गंगदी नयाँ बस्तीकी तिलसरी घर्ती २६ वर्षअघि रोल्पाबाट दाङ झरेकी हुन्। आगनमै धारा जडान भएपछि खानेपानीको दुःख टरेको उनले बताइन्। गंगदीकै टंकेश्वर गुप्तालाई पनि पानी घरमा जोहो गर्न समस्या हुन्थ्यो। तर, अहिले घरका धारामा २४ घण्टा पानी आउने गरेको उनले बताए।
राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले खानेपानी समस्या भएको बस्तीलाई घर घरमा धारा पुगेको बताए। उपाध्यक्ष धनपति यादवले खानेपानी नहुँदा महिलालाई झनै समस्या हुने गरेकामा अब सहज भएको बताइन्। -न्युज कारखाना