काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्। सरकार गठनको झन्डै तीन महिनापछि देउवा मन्त्रिपरिषद विस्तार गर्दैछन्।
प्रधानमन्त्री देउवा सचिवालयले जनाएअनुसार सत्तारूढ गठबन्धनसँग मन्त्री हुनेहरूको नाम मागिएको छ। नाम प्राप्त हुनासाथ आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी छ।
सत्तासाझेदार नेकपा माओवादी केन्द्रले बुधबार नै मन्त्री बन्नेहरुको नाम टुंगो लगाइसकेको छ। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भने आन्तरिक छलफलमा छन्।
कांग्रेसले आठ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीले चार मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति यसअघि नै जुटिसकेको छ।
दलहरूबीच बिहीबार पनि छलफल भएको थियो। देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए।