काठमाडौं– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार रातिको खेलमा घरेलु टिमले बंगलादेशविरुद्ध २–० गोलको सहज जित निकालेको छ।
माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा उसले बंगलादेशरलाई हराउँदै जारी च्याम्पियनसिपमा पहिलो जित निकालेको हो। यो जितसँगै माल्दिभ्सले अंक तालिकामा तीन अंक थप जोड्दै खाता खोलेको छ।
माल्दिभ्सले जितका लागि दुवै गोल दोस्रो हाफमा गरेको थियो। खेलको ५५औं मिनेटमा निहाल दिएको पासलाई हम्जा मोहम्मदले माल्दिभ्सका लागि अग्रता बनाएका थिए।
त्यस्तै, खेलको ७४औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अली अश्फाकले गोल गरेका थिए। खेलमा ६३ प्रतिशत समय बलमा नियन्त्रण बनाएर विपक्षीको पोस्टतर्फ १२ प्रहार गरेको माल्दिभ्सले थप गोल गर्न सकेन।
यता, बंगलादेशले पनि सात पटक माल्दिभ्सको पोस्टतर्फ प्रहार गरेको थियो। तर, बंगलादेशका कुनै प्रयास सफल भएपछि उसले हार बेहोरेको हो। यो हारका बाबजुद ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ भने माल्दिभ्स तीन अंकका साथ तेस्रो स्थानमा छ।
माल्दिभ्सले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो। यता दुवै खेलमा जित निकालेको नेपाल भने ६ अंकका साथ शीर्षस्थानमा छ। त्यस्तै, बिहीबार साँझको अर्को खेलमा इन्डियाले श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो।
पहिलो खेलमा पनि बंगलादेशसँग बराबरी गरेको इन्डियाको अहिले २ अंक छ। त्यस्तै, पुछारको श्रीलंकाले तीन खेलबाट १ अंक जोडेको छ। अब चौथो चरणमा नेपालले इन्डियासँग खेल्नेछ भने श्रीलंकाले माल्दिभ्सँग खेल्नेछ।