शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाको गृहजिल्लामा अन्यायको एक कथा : ‘२० वर्ष अरूलाई नेता बनाएँ, अहिले मेरै नाम काटियो’

देउवाको गृहजिल्लामा अन्यायको एक कथा : ‘२० वर्ष अरूलाई नेता बनाएँ, अहिले मेरै नाम काटियो’

डडेल्धुरामा अन्यायमा पर्ने ममात्रै होइन। पार्टीका लागि रातदिन मेहनत गर्ने थुप्रै साथीहरुमाथि अन्याय गरिएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

कमला विष्ट

कमला विष्ट

शुक्रबार, असोज २२, २०७८

डडेल्धुरा कांग्रेसको राजनीतिमा ३० वर्ष बिताइसकें। जीवनका उर्वर समय कांग्रेसका लागि खर्चिएँ। यसअघि अरूलाई नेता बनाउन लागिपरेकी थिएँ। तर, आफू नेता बन्‍ने बेलामा पार्टीले अन्याय गरेको छ। २० वर्ष अघिदेखि नै कांग्रेसको क्रियाशील सदस्यता लिएकी हुँ। तीन पटक महाधिवेशन प्रतिनिधि भएँ, स्थानीय तहमा कांग्रेसकै तर्फबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार भएँ।

नेपाल महिला संघ डडेल्धुराको सभापति र नेपाली कांग्रेस डडेल्धुराको जिल्ला सदस्य भएँ। तर, एकाएक मलाई कांग्रेस होइन भन्दा मन कस्तो भयो होला? अन्यायपूर्वक मेरो नाम हटाइएको छ। हामीलाई त यति धेरै अन्याय भएको छ भने अब भोलि आउने नयाँ पुस्ता कांग्रेस किन बन्‍ने भन्‍ने प्रश्‍न उठेको छ। 

म अहिले जिल्ला कार्यसमितिको सदस्य पनि हुँ। अजयमेरु–१ बाट मेरो क्रियाशील सदस्यता थियो। ०७४ सालको स्थानीय निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी थिएँ। तीन वटा महाधिवेशनमा म क्षेत्रीय प्रतिनिधि थिएँ। महिला संघ डडेल्धुराको नेतृत्वसमेत गरिसकेकी छु। तर, पार्टीका लागि रगतपसिना बगाइरहँदा पार्टीले जसरी अन्याय गरेको छ, त्यो असह्य छ।

यहाँ शेरबहादुर देउवाबाहेकको अन्य गुट थिएन। शेरबहादुरकै दुईवटा गुट क्रियाशील थिए। एउटा गुटलाई काखा र अर्को गुटलाई पाखा गर्न खोज्दा हामी पिल्सिएका छौं। 

डडेल्धुरामा मलाई मात्रै होइन पार्टीका लागि रातदिन मेहनत गर्ने थुप्रै साथीमाथि अन्याय गरिएको छ। अमरगढी नगरपालिका–९ मा १६ वर्षदेखि वडा सभापति हुनुभएको नरबहादुर पालले पनि मेरै नियति भोग्‍नुपरेको छ। हामीमाथिको अन्याय गरिनुको मुख्य कारण हो– अहिलेका पार्टी सभापति शेरबहादुर देउवाको उत्तराधिकारी को हुने भन्‍ने लडाइँ। यहाँ शेरबहादुर देउवाबाहेकको अन्य गुट थिएन। शेरबहादुरकै दुईवटा गुट क्रियाशील थिए। एउटा गुटलाई काखा र अर्को गुटलाई पाखा गर्न खोज्दा हामी पिल्सिएका छौं। 

वडा, पालिका, क्षेत्र र जिल्लाबाट सर्वसम्मत रूपमा हामीले क्रियाशील सदस्यता वितरण गरेका थियौं र सूची केन्द्रमा पठाएका थियौं। तर, त्यो सूचीबाट ४६० जनाको नाम काटियो। कसरी काटियो भने वडाबाट ७० जनाको नाम पठाएको छ भने त्यो संख्या ७० नै छ। तर, त्यसमा इमानदार र कर्मठ कार्यकर्ताको नाम काटेर नयाँ विधि प्रक्रियाविपरीत नयाँ नाम थप्‍ने काम भएको छ। ४६० जनाको नाम काटेर ३१२ जनाको नाम थपिएको छ।

शेरबहादुरको आशीर्वाद प्राप्त गरेर जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका भीमबहादुर साउँदजीकै योजनामुताविक यो भएको हो। साउँद पर्शुराम नगरपालिकाको मेयरसमेत हुन्। भीम साउँद ठेकेदारसमेत हुन्। उनका कैयौं योजना अलपत्र छन्। यसरी राजनीतिलाई नै व्यापार बनाउन लागि परेकाहरुलाई काखी च्याप्‍ने प्रवृत्तिले पार्टीका पिँधका कार्यकर्तालाई ठूलो चोट पुर्‍याएको छ। 

साउँदलाई जिताउने योजनाअनुसार यो सबै गरिएको छ। हामीले वडादेखि जिल्लासम्म बैठक बसेर सर्वसम्मत रूपमा क्रियाशील फाइनल गरेका हौं। समायोजनका नाममा ११ सय सात जनाको नाम ल्याइयो। 

तर, त्यसको औचित्य पुष्टि हुनुपर्ने कुरा उठ्यो। केन्द्रले औचित्यका आधारमा क्रियाशील सदस्यता थप्‍ने परिपत्र गरेपछि हामीले त्यसलाई क्रसचेक गरेका हौं। माओवादीबाट प्रवेश गर्नुभएका आमन्त्रित केन्द्रीय सदस्य जनकराज कलौनीसहित हामीले वडावडामा गएर क्रसचेक गर्दा सय जनाको मात्रै पुष्टि भयो। हामीले वडामा रहेका मानिसलाई सोध्यौं। अर्को पार्टीमा लिएको सदस्यताको रसिद वा प्रमाण खोजेर क्रसचेक गरेका थियौं।

डडेल्धुराका ५२ वडामध्ये ४३ वडामा समस्या छ। धेरै अन्याय भएको छ। अमरगढी–९ मा जसको हस्ताक्षरले क्रियाशील बने उनीहरु वडा अधिवेशनबाट निर्वाचित भए, क्षेत्रीय प्रतिनिधि बने। तर, हस्ताक्षर गर्ने व्यक्ति नै क्रियाशील सदस्यताबाट वञ्‍चित हुनभएको छ।

समायोजनका नाममा त्यसरी सदस्यता बाँड्ने योजना असफल भएपछि उहाँहरु अर्को योजनामा लाग्‍नुभयो। हामीजस्ता ४६० जनाको नाम काटेर ३१२ जना थप्‍नुभयो। यसमा रोचक त के छ भने थपिएका ३१२ जना ती ११ सय सात जना भित्रका कोही पनि छैनन्। समायोजनलाई देखाएर जे गरिएको छ, त्यो आफैंमा तर्कसंगत देखिँदैन। किनभने अजयमेरु–२ मा माओवादीबाट प्रवेश गर्नुभएका रामबहादुर ऐरकै क्रियाशील सदस्यता आएन।

गन्यापधुरा–४ मा चेतराज भट्टसहित माओवादीबाट २२ जना प्रवेश गर्नुभएको थियो। तर, चेतराज भट्टबाहेक कसैको पनि क्रियाशील सदस्यता आएन। नवदुर्गा गाउँपालिकामा सदस्य जितेका दुई जना जनप्रतिनिधिको पनि क्रियाशील सदस्यता आएन। 

मेरै गाउँपालिका अजयमेरु–१ मा आशा दमाई निर्वाचित वडा सदस्य हुनुहुन्छ। उहाँको पनि क्रियाशिल आएन। डडेल्धुराका ५२ वडामध्ये ४३ वडामा समस्या छ। धेरै अन्याय भएको छ। अमरगढी–९ मा जसको हस्ताक्षरले क्रियाशील बने उनीहरु वडा अधिवेशनबाट निर्वाचित भए, क्षेत्रीय प्रतिनिधि बने। तर, हस्ताक्षर गर्ने व्यक्ति नै क्रियाशील सदस्यताबाट वञ्‍चित हुनभएको छ। 

भदौ १९ गते राति क्रियाशीलको सूची आएको थियो। सूची हेरिसकेपछि हामी अचम्ममा पर्‍यौं।  वडा सभापतिको भेला गर्‍यौं। जिल्ला समितिको बैठक बस्यो। हामी अर्को टिमसँग पनि बसेर अन्याय भयो भन्यौं। छलफल गरेर समस्या समधान गरौं भन्यौं। तर, उहाँहरुले मान्‍नुभएन। निर्वाचन अधिकृतलाई होटलमा राखेर प्रहरी लगाएर अधिवेशन गराउनुभयो। मेरो वडामा ४० जना प्रहरीको घेरामा वडा अधिवेशन गरियो। बाँकी वडामा १० जनासम्म प्रहरी पठाएर वडा अधिवेशन गरिएको छ।

शेरबहादुर दाइ हाम्रो शान हो। डडेल्धुराले उहाँलाई ६ पटक सांसद बनायो, पाँच पटक प्रधानमन्त्री बन्‍नुभयो। तर, आफैं जिल्लामा उहाँलाई जिताउन खटिने कार्यकर्ताको हकमा सोच्दै नसोची सदस्यता काटिदिनुभयो। यसले त उहाँको गरिमा बढाएको छैन, पक्कै घटाएको छ।

त्यसपछि शेखर कोइरालाहरु डडेल्धुरा आउनुभएको थियो। हजारौंको उपस्थितिमा आमसभा गरेका थियौं। हाम्रो माग अन्याय गर्न पाइँदैन भन्‍ने नै हो। वडा अधिवेशन पुनः हुनुपर्‍यो भन्‍ने नै हो। विधि र प्रक्रिया मिचेर गरिएको अधिवेशन हामीलाई मान्य छैन। अहिले हामीले अनशन स्थगित गरेका छौं। तर, दसैंपछि संघर्षमा उत्रन्छौं। 

जीवनका ३० वर्ष कांग्रेसका लागि दिएको छु। उर्वर समय पार्टीका लागि खर्चिएको छु। यसअघि अरुलाई नेता बनाउन लागेको थिएँ। आफैं नेता बन्‍ने बेलामा भने ठूलो अन्याय बेहोर्नुपर्‍यो। हामी जीहजुरी गर्न नसक्ने तर संगठन बचाउन खटिने खालका कार्यकर्ता पर्‍यौं। कांग्रेसमा गणेश प्रवृत्ति मौलाउँदै गयो। यो सत्य कुरा हो। गणेश प्रवृत्तिमा अभ्यस्त हुन नसक्दा अन्याय खेप्‍नुपरेको हो। तर, जस्तोसुकै परिस्थितिमा अन्यायविरुद्ध लड्ने हो, आत्मसमर्पण गर्दैनौं। 

शेरबहादुर दाइ हाम्रो शान हो। उहाँले नै हो सुदूरपश्चिमलाई चिनाएको। तर, उहाँमा यसरी गणेश प्रवृत्ति मौलाएको छ। डडेल्धुराले उहाँलाई ६ पटक सांसद बनायो, पाँच पटक प्रधानमन्त्री बन्‍नुभयो। तर, आफैं जिल्लामा उहाँलाई जिताउन खटिने कार्यकर्ताको हकमा सोच्दै नसोची सदस्यता काटिदिनुभयो। यसले त उहाँको गरिमा बढाएको छैन, पक्कै घटाएको छ।

हामी गलत भए गलत भन्छौं, सच्चाउन दबाब दिन्छौं र आवाज उठाउँछौं। यति गर्दा हामी विरोधी हुन पुग्छौं। हिजोका कठिन परिस्थितिमा कति साथीहरु घरपरिवारको चिन्ता नगरी पार्टीका लागि खटिनुभयो। कतिपय भारत भाग्‍नपर्ने स्थिती पनि थियो। दुरदरजामा संगठन बचाउने मान्छेले न्याय पाउन यस्तो संघर्ष गर्नुपर्छ, अनि के भन्‍ने? 

२०४८ सालदेखि शेरबहादुर दाइलाई डडेल्धुराका जनताले जिताउँदै आएका छन्। तर, उहाँले डडेल्धुराका लागि के गर्नुभयो? प्रश्‍न त पक्कै उब्जेलान् नि। प्रदेशको राजधानीसमेत कैलालीमा तोकिदिनुभयो। ६ पटक सांसद र ५ पटक प्रधानमन्त्री हुँदा स्वकीय सचिव को भएका छन्, कसले जिम्मेवारी पाएका छन्, लाभका पदहरु कसले पाएका छन्? जो दिनभर वरिपरि बसेर दाइ, हजुर भन्छ उसले मात्रै त पाएको छ। दुःख गर्ने कार्यकर्ताले कहाँ अवसर पाएका छन्?

माओवादीको द्वन्द्वकालामा जीवन हत्केलामा राखेर संगठन जोगायौं। विडम्बना हिजो माओवादीसँग मिलेर आफ्नो सम्पत्ति जोगाउन संगठनलाई घात गरेकाहरुलाई नै काखी च्यापेर जीवन हत्केलामा राखेर भिड्‍नेहरुविरुद्ध प्रहार गरिएको छ। हिजो हामीले संगठन नबचाइ एको भए पटक–पटक सांसद, प्रधानमन्त्री र पार्टीको सभापति कसरी बन्‍नुहुन्थ्यो? यो न्यायपूर्ण  हो र? डडेल्धुरामा सातवटा पालिका हुन्। तर, सदरमुकामकै पालिका हामीले गुमाउनुपर्‍यो। किनकि स्थानीय तहको टिकट विरतण गर्दा जिल्ला कार्यसमितिले हेर्नसमेत पाएन। एउटा कोठाबाट बाँडियो र इमान्दारहरुलाई अन्याय गरियो। 

सभापति कर्ण मल्ल, उपसभापतिदेखि महाधिवेशन प्रतिनिधिहरु हामीसँग हुनुहुन्छ। जिल्ला कार्यसमितिका १३ मध्ये ८ जना हामीसँग हुनुहुन्छ। ५१ प्रतिशतभन्दा बढी वडा सभापति हामीसँग हुनुहुन्छ। त्यसैले हाम्रो संघर्ष जारी रहन्छ।

डडेल्धुरामा आजसम्म पौडेल वा कोइराला गुट थिएनन्। शेरबहादुर दाइकै दुई वटा गुट छन्। आजसम्म शेरबहादुर दाइबाहेकका नेता आउँदा हजारौं मान्छे भेला भएका थिएनन्। तर, हामीले अन्याय भोग्‍नपर्‍यो, हामीमाथिको अन्यायविरुद्ध समर्थन जनाउन शेखर दाइहरु उपस्थित भएको कार्यक्रममा जनता स्वस्फूर्त रुपमा आमसभामा उपस्थित भए। हाम्रोतर्फबाट उपसभापति करुणाकर भट्ट सभापतिको उम्मेदवार हनुहुन्थ्यो। त्योबाहेक महाधिवेशन प्रतिनिधि हरि भट्ट पनि दाबेदार हुनुहुन्थ्यो। दुईमध्ये एक लड्ने भन्दाभन्दै अन्यायमा परिहाल्यौं। निर्वाचन अधिकृतलाई होटलमा राखेर प्रहरी परिचालन गरी अधिवेशन गरियो। 

अन्यायविरुद्धको हाम्रो संघर्ष जारी रहन्छ। किनकि अहिलेका सभापति कर्ण मल्ल, उपसभापतिदेखि महाधिवेशन प्रतिनिधिहरु हामीसँग हुनुहुन्छ। जिल्ला कार्यसमितिका १३ मध्ये ८ जना हामीसँग हुनुहुन्छ। ५१ प्रतिशतभन्दा बढी वडा सभापति हामीसँग हुनुहुन्छ। त्यसैले हाम्रो संघर्ष जारी रहन्छ। यहाँबाट नभए केन्द्रीय कार्यालयमै गएर पनि संघर्ष गर्न हामी बाध्य हुनेछौं। हामीसँग अर्को विकल्प पनि छैन। 

(विष्टसँग  तीर्थराज बस्नेतले गरेकाे कुराकानीमा आधारित) 

प्रकाशित: Oct 08, 2021| 12:10 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...