काठमाडौं– मन्त्रिपरिषद् विस्तार भोलि (शुक्रबार) मात्रै हुने भएको छ। सत्ता गठबन्धनमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार आज हुन नसकेको हो।
आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो।
भोलि अपरान्हसम्म सबै दलले मन्त्री बन्नेहरुको नाम दिने र साँझ मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको हो। माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम टुंग्याए पनि कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम टुंगो लगाउन सकेका छैनन्।
माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी मन्त्रालय भागबन्डामा असन्तुष्ट बनेको छ। चार मन्त्री र एक राज्यमन्त्री मात्रै पाएको भन्दै उसले असन्तुष्टि जनाएको थियो।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको आजको बैठकमा उसको असन्तुष्टिका विषयमा छलफल भए पनि कुनै निर्णय भने नभएको बालुवाटार स्रोतले जनाएको छ। भोलिसम्म उक्त असन्तुष्टि पनि हल गरेर मन्त्रीमण्डललाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी छ।
गठबन्धनबीच भएको सहमति अनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्री र एक–एक राज्यमन्त्री पाउने समझदारी भएको थियो ।
कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा पनि सहमति भएको थियो। मन्त्रालय भागबन्डाका विषयमा सहमति नभएकै कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।