काठमाडौं– नेकपा(एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकी अध्यक्ष सुनिता बरालले देशको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताएकी छन्।
बिहीवार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष बरालले विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मको शिक्षा जिवनोपयोगी नभएको भन्दै विद्यालय तहको शिक्षा जीवनोपयोगी र विश्वविद्यालय तहको शिक्षा विषय विज्ञ उत्पादन गर्नेगरी शिक्षा नीति बनाउनुपर्नेमा जोड दिइन्। स्थानीय तहहरुले आफ्नो तहको स्रोत र साधन प्रयोगगरी स्थानीय आवश्यकतालाई ध्यान दिई विषय बनाउनुपर्ने उनको भनाइ छ।
विश्वविद्यालयको शैक्षिक क्यालेण्डरलाई चुस्तदुरुस्त बनाउँदै प्रविधिमैत्री विश्वविद्यालय बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले औंल्याइन्। उनले विद्यार्थी संगठनहरुले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताइन्।
समय फेरिएको उल्लेख गर्दै उनले परिवर्तित समयानुकूल संगठनले भूमिका र कार्यशैली बदल्नुपर्ने बताइन्। पछिल्ला दिनहरुमा राष्ट्रिय राजनीतिमा देखा परेका उतारचढावका कारण विद्यार्थी संगठनहरु ओझेल परेजस्तो देखिएको भन्दै उनले अब भने संगठनको कामलाई व्यवस्थित गरिने बताइन्।
त्यसैगरी नेकपा(माओवादी केन्द्र) निकट अनेरास्ववियु(क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले देशको मुख्य समस्या राजनीतिमा भएकाले विगतमा विद्यार्थी संगठनहरु राजनीतिक विषयमा केन्द्रीत हुनुपरेको उल्लेख गरिन्। तर आगामी दिनमा भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्धामा केन्द्रीत हुने उनले बताइन्।
अध्यक्ष सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको बताइन्। उनले अखिल(क्रान्तिकारी)को विघटित पदाधिकारी, प्रदेश पदाधिकारी र विघटित आयोजक समितिसँगको छलफल र समन्वयमै केन्द्रीय कमिटीलाई पूर्णता दिने बताइन्।