काठमाडौं– नेकपा एसका शीर्ष नेताहरूले मन्त्रीको टुंगो लगाउने भएका छन्। यसका लागि शीर्ष नेताबीच २ बजे छलफल हुँदैछ। नेकपा एसको स्थायी समिति बैठकले मन्त्रीको नामावली टुंगो लगाउने जिम्मेवारी शीर्ष नेताहरूलाई दिएको हो।
बैठकपछि नेता विरोध खतिवडाले भने, ‘स्थायी कमिटीमा पार्टीले धेरै मन्त्रालय पाउनुपर्ने विषयमा आवाज उठेको छ। यसले नयाँ बन्ने पार्टीलाई केही सजिलो हुन्थ्यो कि भन्ने कुरा उठेको हो।’ बैठकमा मन्त्री बन्ने धेरैले आकांक्षा देखाएपछि शीर्ष नेतालाई जिम्मेवारी दिइएको उनले जानकारी दिए। मन्त्रीको संख्याका विषयमा गठबन्धनमा विवाद नहुने उनको भनाइ छ। उनले आज केन्द्रीय कमिटीको संख्या लगाइने जानकारी दिए।
खतिवडाले भने, ‘सतहत्तरै जिल्ला कमिटी र विभागको इन्चार्ज र कामको बाँडफाँट आजै टुंग्याइनेछ। नेकपा एसले रक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने समझदारी बनेको बताइएको छ। खतिवडाले यसमा केही संशोधन हुन सक्ने पनि बताए।