शनिबार, माघ ३, २०८२

एक दिन काम नगरे भोकै बस्नुपर्छ, केको दसैंतिहार!

‘परिवारसँगै बसेर दसैं मनाउने रहर मलाई पनि छ। तर, गरिबीले परिवारबाट टाढा हुन विवश छु।’
 |  बिहीबार, असोज २१, २०७८

लक्ष्मी विश्वकर्मा

लक्ष्मी विश्वकर्मा

बिहीबार, असोज २१, २०७८

काठमाडौं– सहरबजारमा दसैंले छोएको छ। बसपार्कमा घर फर्किनेको लाम देख्न सकिन्छ। बजारमा किनमेल गर्नेको भीड लागेको छ।भीडमा भारी बोकेर गुजारा चलाउनेलाई भने दसैंले छोएको छैन। उनीहरूलाई दसैं नआइदिए जस्तो लाग्छ। यिनैमध्येका हुन्– रुवलाल थापा र मनबहादुर बुढाथोकी।

National life

सल्यान छत्रेश्वरी–४ का ३९ वर्षीय रुवलाल थापा गाउँघरमा खेतीपाती गरेर परिवारको जीवन गुजारा चलाउँथे। सुनेका थिए– काठमाडौं सहरमा काम पाइन्छ। पैसा टन्न कमाइछ। कमाउने रहरले साथमा दुई जोडी कपडा बोकेर उनी २०६४ सालमा काठमाडौं छिरे। 

काठमाडा‌ैं आएपछि केही दिन कामको खोजीमा भौंतारिए। बल्ल एक ठाउँमा मजदुरी पाए। केही समय काम पनि गरे। ठेकेदारले पैसा दिएन। उनी निराश भए। गाउँ फर्कन त चाहन्थे तर आफन्तले ‘कमाउन गएको रित्तै फर्कियो’ भनेर खिल्ली गर्लान् भन्ने चिन्ताले यतै केही गर्ने योजना बनाए।  

रुवलालले धेरै पढेलेखेका छैनन्। त्यसैले उनले भरिया बनेर जीविकोपार्जनको बाटो रोजे। अहिले काठमाडौंका सपिङ कम्प्लेक्सदेखि खुद्रा बजारसम्म दसैंका सामान किनमेल गर्नेको भीडले भरिएको छ। उनी त्यही भीडमा भारी बोकिरहेका भेटिन्छन्। विगत १४ वर्षदेखि उनको दैनिकी यसरी बित्दै आएको छ। 

‘बिहान दुई बजे उठेन भने त काम पाइँदैन। दुई बजे त जसरी उठिसक्नुपर्छ। के गर्ने यस्तै छ जिन्दगी!’

बिहान दुई बजे उठिसक्छन्। उठेर मुख धोएर कोटेश्वरबाट हिँड्दै कालीमाटी तरकारी बजारमा पुग्छन्। तीन बजेदेखि ९ बजेसम्म तरकारीको भारी यताउती ओसार्ने काम गर्छन्। त्यसपछि डेरामा फर्कन्छन्। खाना खान्छन्। एकछिन आराम गर्छन्। उनी भन्छन्, ‘बिहान दुई बजे उठेन भने त काम पाइँदैन। दुई बजे त जसरी उठिसक्नुपर्छ। के गर्ने यस्तै छ जिन्दगी!’

Laxmi sunrise bank
kumari

रुवलाल थापा

दसैं लाग्यो। सबै घरपरिवारसँग रमाउन गाउँ फर्कन थालेका छन्। उनलाई भने दसैंका बेलामा अलिकति भए पनि काम भएर पैसा जोह हुन्छ भन्ने आस छ। त्यसैले उनी घर जाने योजनामा छैनन्। ‘दसैं गरिबका लागि रहेनछ’, उनी भन्छन्, ‘कर्मचारीको दसैंमा बोनस आउँछ, तलब आउँछ। आफूसँग त एक दिन काम गर्न सकिएन भने भोकै बस्नुपर्छ, केको दसैं केको तिहार!’

घर जानआउन १० हजार जति सकिन्छ। त्यति पैसा जोगाएर बरु छोराछोरीलाई आईएमईबाट पठाइदिने उनी बताउँछन्। ‘गाउँघरतिर दसैंका नयाँ लुगा लगाएन भने छिमेकीले खिसी गर्छन्। मैले छोराछोरीलाई थोरै कपडा र अलिकति घरखर्च पठाइसकेको छु’, उनले भने। घर जान नपाउँदा उनलाई आफ्नै देश परेदशजस्तै भएको छ। उनी भन्छन्, ‘यो दसैंले मन रुवाउँछ, आफ्नै देश परदेश भएको छ।’

‘परिवारसँगै बसेर दसैं मनाउने रहर मलाई पनि छ। तर, गरिबीले परिवारबाट टाढा हुन विवश छु।’

भीडमा भारी बोकिरहेका भेटिए रुकुम चौरजहारी ६ का ५२ वर्षीय मनबहादुर बुढाथोकी। उनी पनि ६ वर्षअघि काठमाडौं आएका हुन्। पैसा कमाउने सपना भने पूरा नभएको उनको गुनासो छ। उनी भन्छन्,  ‘दसैंको रमझम देखेर नयाँ–नयाँ कपडा किन्न मन लाग्छ। तर, पैसा छैन।’ 

मनबहादुर बुढाथोकी।

पसिना बेचेर खाने मजदुर वर्गका लागि सरकारले केही राहतको व्यवस्था गरिदिए हुन्थ्यो भन्छन् उनी। बुढाथोकी भन्छन्, ‘परिवारसँगै बसेर दसैं मनाउने रहर मलाई पनि छ। तर, गरिबीले परिवारबाट टाढा हुन विवश छु।’ फूलपातीसम्म अलिअलि पैसा कमाइ भयो भने घर जाने सोचमा रहेको उनी बताउँछन्।

‘विपन्न परिवारका लागि सरकारले दसैंमा लुगा र खाद्यान्न सहुलियतमा दिएमा उमंग र उल्लासपूर्ण रूपमा चाडपर्व मनाउन पाइन्थ्यो’, उनी भन्छन्।

प्रकाशित: Oct 07, 2021| 16:33 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।