काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसाबले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाएका छन्।
बिहीबार आयोजित एक कार्यक्रममा नेकपा एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष नेपालले नेकपा एमालेका नेता केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको आरोप लगाए।
उनले नेकपा एमालेमै रहनका लागि अन्तिमसम्म प्रयास गर्दा र पछिल्लो समय राष्ट्रिय विधान महाधिवेशनमा भएको गतिविधि र सिद्धान्तका कारण जोशीले नयाँ क्रान्तिकारी रोजेको बताए। उनले नेता जोशीलाई नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी सदस्यमा लैजाने समेत घोषणा गरे। उनले नेकपा एमाले सबै हिसावले पतनको दिशामा गएको बताउँदै नेकपा एमाले सामुहिक नभएर एक व्यक्तिको पार्टी जस्तो भएको बताए।
कार्यक्रममा नेकपा एमालेबाट नेकपा (एकीकृत समाजवादी) पार्टीमा मा प्रवेश गरेका नेता भानुभक्त जोशीले १० बुँदे सहमति तथा अन्तर पार्टी निर्देशन १२ का निर्णयसमेत कार्यान्वयन नभएकोले पार्टी परिवर्तन गरेको बताए। उनले पछिल्लो समय पार्टीमा फेरि आग्रह पूर्वाग्रह यथावत् रहेको पाइएको भन्दै नेकपा एकीकृत प्रवेश गरेको बताए। नेता जोशीले एमालेको नीति र सिद्धान्त उचित नभएकोले एमालेको केन्द्रिय कमिटीबाट राजीनामा दिएको स्पष्ट पारे।