न्युयोर्क– विश्वका १० देखि १९ वर्ष उमेर समूहका ७ मध्ये एक किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। कोरोना महामारीका कारण किशोर समस्या झन् चुलिएको युनिसेफले सार्वजनिक गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘ बालबालिका र युवाले कोभिड-१९ का कारण उत्पन्न मानसिक स्वास्थ्य समस्या धेरै वर्षसम्म महसुस गर्नेछन्।’
विश्वमा बालबालिकाको अवस्था २०२१- मेरो दिमागमा : बालबालिकाको मानसिक स्वास्थ्यको प्रवर्द्धन, सुरक्षा र हेरचाहअनुसार कोभिड १९ भन्दा पहिलेदेखि नै यो विषयलाई सम्बोधन नगरिएकाले बालबालिका र युवाले मानसिक स्वास्थ्य सम्बन्धी अवस्थाको बोझ उठाउँदै आएका छन्।
युनिसेफले यो अध्ययन प्रतिवेदनलाई २१औं शताब्दीमा बालबालिका, किशोरकिशोरी र हेरचाहकर्ताको मानसिक स्वास्थ्यका बारेमा अहिलेसम्म सबैभन्दा व्यापक विश्लेषण भनेको छ।
यस्तै मानसिक समस्याका कारण आत्महत्याबाट प्रत्येक वर्ष लगभग ४६ हजार किशोरकिशोरीको ज्यान जाने गरेको छ। प्रतिवेदनमा उल्लेख छ, ‘मानसिक स्वास्थ्य सम्बन्धी आवश्यकता र यसमा लगानीबीच ठूलो अन्तर छ।’ विश्वव्यापी रुपमा सरकारी स्वास्थ्य बजेटको लगभग २ प्रतिशत मात्रै मानसिक स्वास्थ्यका लागि छुट्याइने गरिएको युनिसेफले जनाएको छ।
बन्दाबन्दी र महामारीका कारण हिँड्डुलमा भएको प्रतिबन्धले गर्दा बालबालिकाले आफ्नो जीवनका केही महत्त्वपूर्ण क्षण परिवार, साथीहरू, कक्षाकोठा र खेलकुदजस्ता बाल्यकालका मुख्य तत्त्वहरूबाट टाढा रहेर बिताएका छन्।
‘बितेका १८ महिना विशेष गरेर बालबालिकाका लागि धेरै लामो समय भएको छ। राष्ट्रव्यापी बन्दाबन्दी र महामारीका कारण हिँड्डुलमा भएको प्रतिबन्धले गर्दा बालबालिकाले आफ्नो जीवनका केही महत्त्वपूर्ण क्षण परिवार, साथीहरू, कक्षाकोठा र खेलकुदजस्ता बाल्यकालका मुख्य तत्त्वहरूबाट टाढा रहेर बिताएका छन्,’ युनिसेफका कार्यकारी निर्देशक हेनेरिट्टा फोरले भनिन्, ‘यसको असर गम्भीर छ। मानसिक स्वास्थ्य त ठूलो समस्याको देखिने सानो भाग मात्रै हो।’
उनले महामारीभन्दा पहिलेदेखि नै धेरै बालबालिका मानसिक स्वास्थ्य समस्यको बोझले दबिएको बताइन्। फोरले भनिन्, ‘यी महत्त्वपूर्ण आवश्यकतालाई सम्बोधन गर्न सरकारहरूद्वारा थोरै लगानी भइरहेको छ। मानसिक स्वास्थ्य र भावी जीवन परिणाम बीचको सम्बन्धलाई महत्त्व दिइएको छैन।’
युनिसेफ र ग्यालपद्वारा २१ देशमा सञ्चालित बालबालिका र वयस्कहरूको एक अन्तर्राष्ट्रिय सर्वेक्षणको प्रारम्भिक निष्कर्ष र 'द स्टेट अफ द वर्ल्ड्स चिल्ड्रेन २०२१' मा गरिएको पूर्वावलोकनअनुसार १५-२४ वर्ष उमेर समूहका पाँचमध्ये १ जना प्रायः निराश भेटिएका छन्। यस्ता युवाले जुनसुकै काम गर्नमा पनि कम रुचि राख्ने गरेको पाइएको छ।
विश्वव्यापी रूपमा सातमध्ये कम्तीमा १ जना बालबालिका बन्दाबन्दीबाट प्रत्यक्ष रूपमा प्रभावित छन्। यस्तै १ अर्ब ६० करोडभन्दा बढी बालबालिकाले शिक्षाको अवसर गुमाएका छन्। अस्तव्यस्त दिनचर्या, शिक्षा, मनोरन्जन, साथसाथै पारिवारिक आय र स्वास्थ्य चिन्ताजस्ता समस्याका कारण धेरै युवाले डर, क्रोध र आफ्नो भविष्यप्रति चिन्ता महसुस गरिरहेको पाइएको छ।
मानसिक समस्यामा परेका कारण युवाहरुले अर्थतन्त्रमा योगदान पुर्याउन असक्ष भएका छन्। फलस्वरूप प्रतिवर्ष लगभग तीन खर्ब ९० अर्ब डलर घाटा भएको अनुमान छ।
२०२० को सुरुमा चीनमा गरिएको एउटा अनलाइन सर्वेक्षणले लगभग एक तिहाई उत्तरदाताहरू डराएको वा चिन्तित भएको पाइएको थियो।
‘लन्डन स्कुल अफ इकोनोमिक्स’ द्वारा जारी नयाँ विश्लेषणअनुसार मानसिक समस्यामा परेका कारण युवाहरुले अर्थतन्त्रमा योगदान पुर्याउन असक्ष भएका छन्। फलस्वरूप प्रतिवर्ष लगभग तीन खर्ब ९० अर्ब डलर घाटा भएको अनुमान छ।
अभिभावकत्व, विद्यालयको शिक्षा, सम्बन्धहरूको गुणस्तर, हिंसा वा दुर्व्यवहारको जोखिम, भेदभाव, गरिबी, मानवीय संकट र कोभिड(१९ जस्ता सवास्थ्य सम्बन्धी आपत्कालीन समस्याहरूले बालबालिकाको मानसिक स्वास्थ्यमा जीवनभर प्रभाव पार्ने युनिसेफको प्रतिवेदनमा उल्लेख छ।
युनिसेफले जोखिममा परेका बालबालिका र आमाबुबाको आधारभूत गुणस्तरीय मानसिक स्वास्थ्य र मनोसामाजिक समर्थन सेवाहरूको उपलब्धता र पहुँच सुनिश्चित गर्न तथा लैंगिक रूपमा संवेदनशील बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यमा तत्काल लगानी गर्न सुझाव दिएको छ।
‘मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यको एक अंग हो। हामीले यसलाई अन्यथाको रूपमा हेरिराख्न सक्दैनौं’, फोरले भनिन्, धनी र गरिब देशहरूमा यस विषयबारे असाध्यै थोरै बुझाइ रहेको छ।’ यस्तै बालबालिकाको क्षमता वृद्धिको एक महत्त्वपूर्ण तत्त्वप्रति असाध्यै थोरै लगानी भएको पाइएको उनको भनाइ छ। उनले भनिन्, ‘यो परिवर्तन हुन अति आवश्यक छ।’