काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ।
सत्तारुढ भारतीय जनता पार्टी र सरकारसँगको सम्बन्ध सुधारका लागि नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत नेतृत्वको तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो।
भारतीय जनता पार्टीका वैदेशिक मामिला विभाग प्रमुख विजय चौंथाइवालेको नियन्त्रणमा जाने लागेको सो प्रतिनिधिमण्डलमा कांग्रेस नेताहरु उदयशमशेर जबरा र अजय चौरसिया समेत रहेको बताइएको छ।
भारत भ्रमणको क्रममा भारतीय जनता पार्टी र सरकारका पनि उच्च पदस्थ अधिकारीहरुसँग भेटगरी दुई पार्टीबीचको सम्बन्ध विकास गर्ने र सरकार-सरकारबीचको पनि सम्बन्ध विकासमा सघाउ पुर्याउने गरी आफूहरु भारत भ्रमण जान लागेको कांग्रेस महामहामन्त्री डा. महतले जानकारी दिए।
नयाँ दिल्ली, लखनऊ र वनारसमा हुने छलफलले दुई देशबीचको एक अर्काप्रतिको चासो र चिन्तालाई सम्बोधन गर्न र कुनै समस्या देखिए तत्काल समाधान गर्न पनि सघाउ पुर्याउने उनले बताए।
सहमहामन्त्री महतले भने, ‘भारतीय जनता पार्टीको निमन्त्रणमा हामी भारत भ्रमणमा जाँदैछौं। यसभन्दा अगाडि मेरै निमन्त्रणमा नेपाली काँग्रेस र पार्टीको तर्फबाट भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख यहाँ भ्रमणमा आउनु भएको थियो। हामीबीचमा धेरै अन्तरक्रियाहरु पनि भए प्रधानमन्त्रीलगायतसँग। यो छलफलको क्रममा दुई पार्टीको बीचमा यो अन्तरक्रिया, छलफल र भेटघाटको आदानप्रदानले एक अर्कालाई बुझ्ने, पार्टी कसरी सञ्चालन हुन्छ ? दुई पार्टीबीचको के दृष्टिकोणहरु छन? एक अर्काप्रति। यी सबै कुराहरुमा जति ज्यादा हाम्रो अन्तरक्रियाहरु हुन्छ। भेटघाट हुन्छ र बुझाईको लेवल बढछ। जब दुई पार्टीबीचको बुझाइको लेबल बढछ। त्यसले दुई देशबीचको सम्बन्धमा पनि कुनै समस्या आयो भने त्यसलाई समाधान गर्न सजिलो पर्छ। र हाम्रो सम्बन्धमा प्रगाढ बनाउन सम्भव हुन्छ।'
दुई पार्टी नेपाली कांग्रेस र भारतीय जनता पार्टी दुईटै पार्टी अहिले दुबै देशको सत्ताधारी भएकोले दुई पार्टीबीचको अन्तरक्रियाले दुई पार्टीबीचको नेतृत्व तहबीचको बुझाइको स्तर बढ्ने उनले बताए।
कांग्रेस प्रतिनिधिमण्डल भारत सरकारसँगको सम्बन्धलाई सुमधुर बनाउन भारत जान लागेको हो। पूर्व परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महतले दुई पार्टीबीचको छलफलले दुई मुलुकको बीचको नेतृत्व र जनता–जनताबीचको सम्बन्धलाई पनि बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले दुई मुलुकबीच कुनै समस्या भए तत्काल कूटनीतिक पहल गरी समाधान गर्न पनि यस्ता भ्रमणहरु उपयोगी हुने धारणा समेत राखे।