काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले यसपालि सभापति पदमा लड्ने बताएका छन्। नागार्जुन नगर समितिले बुधबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै नेता सिंहले १३औं महाधिवेशनमा आफू नउठेर रामचन्द्र पौडेल र शशांक कोइरालालाई सघाएको भन्दै यसपटक सभापतिमा आफू लड्ने बताएका हुन्।
‘अहिलेसम्म काठमाडौंबाट को पार्टी सभापति भएको छ?,’ उनले भने, ‘के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने?’
उनले नेताहरूमा पदमा पुग्न होडबाजी गर्ने तर पद पाइसकेपछि काम नगर्ने प्रवृत्ति देखा परेको पनि बताए। पदमा पुगेपछि सभापति शेरबहादुर देउवाले काम गर्न नसकेको उनको आरोप छ। ‘अहिलेको सभापतिलाई हेर्नुस् न, चार वर्षसम्म पनि विभाग गठन गर्न सक्नु भएन,’ उनले भने।
पार्टीलाई संस्थागत गर्नुपर्ने बताउँदै उनले कांग्रेसमा गुट नै गुट रहेको संकेत गरे। ए कांग्रेस, बी कांग्रेस र सी कांग्रेसभन्दा पनि नेपाली कांग्रेस जनताले खोजेको उनको भनाइ थियो। जनताले खोजेजस्तो नेपाली कांग्रेस १४औं महाधिवेशनपछि आउने सिंहको दाबी छ। ‘त्याग नै त्याग भनेर मात्र हुन्छ? १३औं महाधिवेशनमा मैले रामचन्द्र पौडेललाई छाडेकै हो,’ उनले भने, ‘म पहिले महामन्त्री जितेको हुँ। बिपीको छोरा महामन्त्री उठ्ने भनेर म नै त्यसबेला शशांक कोइरालाको प्रस्तावक बसेँ।’
आफूलाई नेता तथा कार्यकर्ताहरूले अगाडि बढ्न भनेको उनले बताए। ‘गणेशमानको छोरा भन्छौं पार्टीलाई राम्रो गर्नुपर्यो भनेर मलाई कार्यकर्ताहरूले भनेका छन्,’ उनले भने, ‘प्रजातन्त्र जोगाउनुपर्यो। पार्टी संस्थागत गर्नुपर्यो। जनतालाई सहयोग गर्नुपर्यो भन्ने हो। मलाई पदमा पुगेर पैसा कमाउनु छैन।’
उनले पार्टीमा यतिका वर्ष काठमाडौं बाहिरका नेताहरू सभापति भनेको र यसपालि काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए। ‘यतिका वर्ष काठमाडौं बाहिरले नेतृत्व गरेको अब पालो काठमाडौंको हो,’ उनले भने।