शुक्रबार, भदौ ५, २०८३

दलहरू जुटे मन्त्रीको नाम टुंगो लगाउन

सत्ता साझेदार दलहरू मन्त्री छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका हुन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं- सत्ता साझेदार दलहरू मन्त्री छनोटका लागि आन्तरिक छलफलमा जुटेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसँगै कांग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टी मन्त्रीको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका हुन्। 

मन्त्रीको टुंगो लगाउने विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने बैठकले मन्त्रीहरूको टुंगो लगाउने स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। 

यस्तै आज मन्त्रीको नाम चयनलगायतका विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक पनि बस्दै छ। सत्तारुढ गठबन्धनमा मन्त्रालयको टुगों लागेपछि मन्त्रीमा ककसलाई पठाउने विषयमा छलफल गर्न बुधबार जसपा नेपाल कार्यकारिणी समितिको बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए। 

कांग्रेसले पनि आज मन्त्रीको नाम टुंगो लगाउने भएको छ। नेकपा एकीकृत समाजवादीले भने मन्त्रीहरूको नाम करिब टुंगो लगाएको छ। आज बेलुकासम्म सत्ता साझेदार दलहरुले मन्त्रीको लिष्ट दिने तयारी गरेका छन्। भोलि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ । 

हिजो बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँडमा सहमति जुटाएको थियो। सहमति अनुसार सरकारको नेतृत्व गरेको कांग्रेसले ८ वटा मन्त्रालय लिने भएको छ। माओवादी केन्द्रले पाँच र एकीकृत समाजवादी र जनता समाजवादीले समान चार/चार मन्त्रालय पाउने भएका छन्। सत्तारुढ तीन दलले १–१ राज्यमन्त्री पाउने सहमति भएको छ। 

सहमतिअनुसार कांग्रेसले अब रक्षा, सञ्चार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालय लिने छ। कांग्रेसले यसअघि प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, कानून र स्वास्थ्य राज्यमन्त्री लिइसकेको छ। 

यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लिने सहमति भएको छ। माओवादीले यसअघि नै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको छ। 

यस्तै नेकपा एकीकृत समाजवादीले कानुन, शहरी विकास, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लिने सहमति भएको छ। 

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय लिने मोटामोटी सहमति भएको छ। 

मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्। देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित: Oct 06, 2021| 10:54 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...