काठमाडौं- सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित चार वटा मन्त्रालय पाउने भएको छ।
सिंहदरबारमा मंगलबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष उपेन्द्र यादवले सत्तारुढ गठबन्धन दलबीच आफ्नो पार्टीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय दिने सहमति भएको औपचारिक जानकारी गराएका हुन्।
सत्तारुढ गठबन्धन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। बैठकले आफ्नो पार्टीलाई चारवटा मन्त्रालय दिने निर्णय गरेको कुरा पार्टी संसदीय दलको नेता समेत रहेका अध्यक्ष यादवले संसदीय दलको बैठकमा जानकारी गराएको पार्टीका नेता राजकिशोर यादवले जानकारी दिए।
त्यसैगरी बैठकले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको छ। नेता यादवले भने, ‘आज बिहान सत्तारुढ दलको बैठकले बालुवाटारमा जुन मन्त्रालयको भागबण्डा गरेको छ। त्यसको बारेमा अध्यक्षले बैठकलाई जानकारी गराउनु भयो। हाम्रो भागमा चार वटा मन्त्रालय आएको कुरा जानकारी गराइयो। त्यो चार वटा मन्त्रालय भनेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, कृषि विकास मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय हो। मन्त्रालय जम्मा ४ वटा छ। सबैलाई मन्त्री बनाउन त सकिँदैन। त्यसैले अब तपाईंहरुले आफ्नो आफ्नो कुरा राख्नुस् । कसरी लाँदा राम्रो हुन्छ? भन्ने कुरा भयो।'
पार्टीले पनि अब मन्त्रालयको कुरा यसरी बैठक बसेर टुंगिने विषय होइन भनेको छ। पार्टीको हितमा सबै प्रकारणको क्षत्रीयता, जातीयता, लैंगिकता, मूल्यांकन र क्षमताको आधारमा निर्णय गर्न अध्यक्षलाई त्यसको जिम्मेवारी दिने सर्वसम्मत निर्णय गरिएको पनि उनले बताए।
जनता समाजवादी पार्टी, नेपालका २१ जना सांसदहरु छन्। सरकार गठन भएको ८३ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो। अब दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ।