आइतबार, वैशाख ७, २०८२

ईपीएलमा काठमाडौं : प्रतिकूल मौसमले हरायो–जितायो

लगातारको स्थगनले काठमाडौंका खेलाडी निकै आजित भएका देखिन्छ। तेस्रो पटक खेल स्थगित भएपछि काठमाडौंका कप्तान सन्दीपले मैदानमा आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्।
 |  मंगलबार, असोज १९, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, असोज १९, २०७८

vianetvianet

काठमाडौं– क्रिकेटमा यस्ता कुरा सामान्य हुन्। प्रतिकूल मौसम भनेर क्षमा पाइँदैन। तर कतिपय टिमलाई मौसमले यसरी प्रभाव पारिदिन्छ कि त्यो क्लबको स्पोर्टिङ स्पिरिट नै मौसमले खोसिदिन्छ।

triton college

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स इलेवेनका सन्दर्भमा सायद यो कुरा भन्न सकिन्छ।

प्रतियोगिताको उद्घाटन खेल नै वर्षाबाट सुरु भएको ईपीएलमा वर्षाका कारण धेरै खेल प्रभावित भए। पहिलो खेलमै वर्षाले सामान्य प्रभाव पारेको काठमाडौंको खेललाई पछिल्लो चार खेलमा निरन्तर प्रभाव पारिरह्यो।

उसले कुनै खेल पनि आरामले खेल्न पाएन। यद्यपि काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्सलाई हराएको थियो। त्यो खेलमा दुवै टिमका ब्याट्समेनले खुलेर खेले।

‘वर्षाका कारण विकेट चाहिँ स्किरी (चिप्लो) हुन थाल्यो अनि सजिलै ब्याटमा आउन थाल्यो। त्यसैले त्यो खेल कुनै बलर त्यसमाथि पनि स्पिनरलाई सजिलो थिएन,’ पहिलो खेलपछि सन्दीप लामिछानेले भनेका थिए।

National life insurance

पहिलो दिन नै बलियो ललितपुरमाथि ३४ बल बाँकी रहँदै ७ विकेटको जित निकालेपछि सायद सन्दीपलाई लागेको थियो, यो प्रतियोगिता हाम्रो पक्षमा आउँदैछ। त्यति मात्र होइन, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले दिएको जितको शुभकामनाले खेलाडीको ऊर्जा बढेको थियो। पहिलो खेलमा जितेन्द्र मुखिया, रहमानुल्लाह गुरबाज र रायन बर्लले जुन प्रदर्शन गरेका थिए, त्यो हेर्दा लाथ्यो– काठमाडौं साँच्चै नै उपाधि दावेदार छ।

त्यसो त उसले कमजोर टिमलाई पनि त हराएको थिएन। ‘हामी ललितपुरविरुद्ध जितको लय अन्य क्लबसँग पनि कायम राख्नेछौं र उपाधि जित्नेछौं,’ सन्दीपले कीर्तिपुरको मैदान हेरेर आशा गर्दै भनेका थिए, ‘अब उपाधि जितिन्छ।’ खेलपछिको पत्रकार सम्मेलनमा पनि उनले त्यस्तै जवाफ दिए।

काठमाडौंका अर्का खेलाडी रायनले पनि भनेका थिए, ‘टिममा सकारात्मकता, आत्मविश्वास, दृढ संकल्प र खेलाडीको संयोजन पनि निकै गजबको छ। त्यसलाई हामीले फाइनलसम्म लिएर जान सक्नेछौं।’

पहिलो दिन नै बलियो ललितपुरमाथि ३४ बल बाँकी रहँदै ७ विकेटको जित निकालेपछि सायद सन्दीपलाई लागेको थियो, यो प्रतियोगिता हाम्रो पक्षमा आउँदैछ।

तर, वास्तविकता उनीहरुले भनेजस्तो भएन। उल्टो भयो। त्यसपछिका तीन खेलमा काठमाडौं लगातार पराजित भइरह्यो। ती सबै दिन उसको खेल समय बिहानको थियो। राति वर्षा भइरह्यो र बिहान मैदान र आउटफिल्ड खेल्न लायक रहेन।

लाग्छ– उसलाई विपक्षीले भन्दा धेरै प्रतिकूल मौसमले हरायो। त्यसो त, पहिलो खेलमा पाकिस्तानी स्टार शाहिद अफ्रिदीको उपस्थितिले काठमाडौंको टिममा बेग्लै रौनक थियो। दोस्रो खेलका लागि पनि अफ्रिदी उपस्थित थिए तर मौसमले खेल बिथोल्यो। सेप्टेम्बर २८ मा विराटनगर वारियर्सविरुद्धको खेल नै स्थगित भयो। अफ्रिदीले दोस्रो खेल खेल्न पाएनन्।

‘सायद अफ्रिदीको साथ पाएको भए नतिजा अर्कै हुन्थ्यो कि!’ आज काठमाडौंका खेलाडीलाई लाग्दो हो। तर उनी दुई खेलका लागि मात्र टिममा थिए। यता काठमाडौंको सेप्टेम्बर २८ मा पोखरा राइनोजविरुद्धको खेल र अक्टोबर २ मा भैरहवा ग्लाडिएटर्सविरुद्धको खेल पनि स्थगित भयो।

लगातारको स्थगनले काठमाडौंका खेलाडी निकै आजित भएका देखिन्छ। तेस्रो पटक खेल स्थगित भएपछि काठमाडौंका कप्तान सन्दीपले मैदानमा आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्।

‘के भएको थियो त्यतिबेला?’ भन्ने प्रश्नमा सन्दीपले जवाफ दिए, ‘खास केही थिएन, बिहान मात्र खेल छ। र, त्यसले आउटफिल्ड ‘प्याचेज’ हरु छन्। ग्राउन्ड मेनहरुले बनाएर पनि खेल्न लायक बन्न सकिरहेको थिएन। त्यस्तोमा खेल त सुरक्षाको पनि चुनौती रहन्छ। खेल हुने र नहुने दुविधाबीचको फ्रस्टेसन थियो त्यो।’

उनले त्यसो भनिरहँदा भर्खरै काठमाडौंले विराटनगरसँग हारेको थियो। अन्य सबै क्लबसँग हार बेहोरेको विराटनगरले ‘मोरल डाउन’ भएको काठमाडौंलाई सजिलै हरायो।

आइतबारको खेलमा काठमाडौंलाई ७ रनले पराजित गर्दै विराटनगरले पहिलो जित निकाल्यो। विराटनगरले दिएको १०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ८ ओभरमा ३ विकेट गुमाएर ९७ रन मात्र बनाएपछि काठमाडौं प्रतियोगिताबाटै बाहिरिसकेको टिमसँग पराजित भएको थियो।

मौसमले प्रभाव पारेको त्यो खेल पनि आठ ओभरमा झारिएको थियो। काठमाडौंले पूरा ओभर खेल्न पाएन। ‘फुल गेम चाहिँ हामीले राम्ररी खेल्न पाएको छैन,’ सन्दीपले भने।

त्यो खेलपछि यता अर्को टिम ललितपुरले लिग चरणका सबै खेल खेलिसकेको थियो। अंक तालिकामा ललितपुर चौथो र समान २ अंक भएको काठमाडौं पाँचाै‌ स्थानमा थियो।

लगातारको स्थगनले काठमाडौंका खेलाडी निकै आजित भएका देखिन्छ। तेस्रो पटक खेल स्थगित भएपछि काठमाडौंका कप्तान सन्दीपले मैदानमा आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्।

अंक तालिकामा काठमाडौंले जित निकाले काठमाडौं नै प्लेअफमा जाने, नभए ललितपुर प्लेअफमा जाने समीकरण बन्यो। अनि पहिले रोकिएको खेलमा काठमाडौंले आइतबारपछि लगत्तै सोमबार पनि खेल्नुपर्यो। सोमबारको खेल पोखरा राइनोजविरुद्ध थियो।

त्यो खेलमा उसलाई जसरी पनि जित निकाल्नु पर्ने थियो। जित निकालेमा प्लेअफमा जाने निश्चित थियो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन बनाएको थियो।

जवाफी ब्याटिङमा उत्रेको पोखराले १५ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १४२ रन बनाएको अवस्थामा पानी परेको थियो। त्यसपछि डीएल मार्फत १४ रनको जित पोखराले निकाल्यो। 

मौसमले प्रभावित भएको अर्को खेलमा पनि काठमाडौं हार्यो।

उसले अन्तिम दिन अक्टोबर ५ (असोज १९ गते) मंगलबार लगातार तेस्रो दिनको खेलमा भैरहवासँग भिड्ने योजना थियो। खेल मौसमले प्रभावित भयो। आउटफिल्ड हिलो भएपछि समयमा खेल सुरु हुन सकेन्। अन्ततः रद्द भयो।

मौसमकै कारण प्लेअफमा

मंगलबार दिउँसो खेल हुन नसकेपछि काठमाडौं र भैरहवाले समान १–१ अंक बाँडे। मंगलबारको खेल रोकिनुअघि काठमाडौं र ललितपुरको समान २–२ अंक थियो। आजको खेलमा काठमाडौंले हार बेहोरेको अवस्थामा नेट रन रेटको आधारका ललितपुर नै प्लेअफमा जाने सम्भावना थियो। 

तर, प्रतिकूल मौसमका कारण खेल हुन नसकेपछि अंक थप गर्दै ३ अंक बनाएर काठमाडौं चौथो स्थानमा उक्लियो। र, काठमाडौं नै प्लेअफमा पुग्यो। त्यसैले काठमाडौंले जित्यो, हार्यो वा अंक बाँड्यो, ती सबै कुरामा कारक नायक चाहिँ मौसम नै रह्यो।

काठमाडौंका सबै खेलमा मौसमले जित्यो। सायद सबै कुरा ठिकठाक रहेको भए काठमाडौंको क्वालिफायर यात्रा पनि असम्भव भने थिएन। तर उसको भागमा अन्तिममा लगातार पाँच खेल परेको छ।

यद्यपि आज (मंगलबार) को खेल रद्द भएपछि उसले एक दिनको रेस्ट पायो। अब काठमाडौंले बुधबार दिउँसो इलिमिनेटरमा पोखरा राइनोजको सामना गर्नेछ।

सोमबार भएको खेलमा उसले डिएल मेथडबाट पोखरासँग हार बेहोरेको थियो। यस्तोमा सबैको आशा रहन्छ कि काठमाडौंले इलिमिनेटरमा हारोस् वा जितेर तर खेल पूरा समय चलोस्।

यद्यपि सबै दोष मौसमलाई दिन चाहिँ मिल्दैन। गएको असोज १४ मा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। त्यसपछि १४२ रनको लक्ष्यका साथ मैदान उत्रिएको चितवनले १८ ओभर चार बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

पूरा समय चलेको त्यो खेलमा काठमाडौंले जित निकाल्न सकेन। तर, त्यसअघि लगातार दुई खेल स्थगित भएपछि काठमाडौंको खेलाडीमा नैराश्यता भरिएको पो थियो कि! अनुमान भने लगाउन सकिन्छ– काठमाडौंलाई लगातार मौसमले हरायो कि! अथवा मौसमले नै प्लेअफसम्म पुर्यायो?

प्रकाशित: Oct 05, 2021| 15:06 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।