शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तीन नेताको निष्कर्ष: गठबन्धनका कारण मन्त्रिपरिषद्‌ विस्तारमा ढिलाइ, चाँडो गर्न दबाब

तीन नेताको निष्कर्ष: गठबन्धनका कारण मन्त्रिपरिषद्‌ विस्तारमा ढिलाइ, चाँडो गर्न दबाब

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन्।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिन सुरु गरेका छन्।

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वसनीयतामै ह्रास आएको निष्कर्ष निकाल्दै तत्काल मन्त्रिपरिषदलाई पूर्णता दिन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन्। 

उपसभापति निधिको नयाँ बानेश्वरस्थित निवासमा सोमबार बसेको तीन नेताहरुको बैठकले सत्तारुढ गठबन्धन दलका नेताहरुलाई पनि विभिन्‍न कारण देखाएर मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ढिलाइ नगर्न सचेत गराएका छन्। सरकार र गठबन्धन दलको विश्वसनीयतामाथि नै प्रश्न उठी सकेकाले छिटोभन्दा छिटो मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सरकारलाई आग्रह गरिएको उपसभापति निधिले जानकारी दिए। 

उनले भने, ‘आज ८२-८३ दिन भइसक्यो सरकार गठन भएको। हाम्रै पार्टीका नेता शेरबहादुरजीको नेतृत्वमा सरकार छ। तर अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता प्राप्त गर्न सकेको छैन। त्यो ज्याँदै ढिला भयो। यति ढिलो हुनुहुँदैन भनेर हामीले चिन्ता व्यक्त गरेका छौं। अब छिटोभन्दा छिटो मन्त्रिमण्डलले पूर्णता पाओस्। गठबन्धनका दलहरु जो छन, ती दलहरुको कारणले गर्दाखेरी ढिलाई नहोस्। जनतामा अब ढिलाइको कारणले गठबन्धन र सरकारको कार्य प्रणाली र गठबन्धनको विश्वसनीयतामाथि नै टिकाटिप्पणी थालेको छ। विश्वसनीयतामा ह्रास आउन थालेको छ। त्यसको बारेमा हामीहरुले चिन्ता व्यक्त गर्‍यौं।’

नेताहरुबीच १४ औं महाधिवेशनमा पार्टी पदाधिकारीहरुमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु भएको छ। त्यसैगरी बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी चार जिल्लाको विवाद छिटो टुंगो लगाएर पार्टीको वडा अधिवेशन, पालिका अधिवेशन र जिल्ला अधिवेशन समयमै सक्न पनि पार्टी सभापति शेरबहादुर देउवासँग माग गरेको छ। पार्टीको १४ औं महाधिवेशनमा साझा धारणा बनाएर जाने र पदाधिकारीमा साझा उम्मेदवारी दिने विषयमा पनि छलफल सुरु गरिएको उपसभापति निधिले जानकारी दिए। 

नेपाली काँग्रेसको बारा, रौतहट, सप्तरी र रसुवा जिल्लामा अझै पार्टीको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगो लागेको छैन। 

उपसभापति निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने महामन्त्री कोइराला र नेता सिंहले पनि सभापति बन्‍ने आकांक्षा राखेका छन्। 

प्रकाशित: Oct 05, 2021| 00:25 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...