पोखरा– जग्गा अधिग्रहण भएको करिब आधा शताब्दीपछि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षमा सञ्चालन हुने खबरले गण्डकी प्रदेशका पर्यटन व्यवसायी जति उत्साहित छन्, त्यति नै चिन्तित पनि छन् पर्यटकलाई पोखराको आकाशमा विचरण गराउने कम्पनीहरु। यो विमानस्थलले विषेशगरी पोखरामा सञ्चालित प्याराग्लाइडिङ र अल्ट्रालाइटको भविष्य अन्योलमा परेको हो।
पोखराको नयाँ विमानस्थलबाट उडान सुरु गर्नुभन्दा पहिले नै पोखराको अन्य हवाई गतिविधि बन्द गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ। तर प्राधिकरणले भने यसको विकल्प दिइसकेको छैन। तर पोखराका पर्यटन व्यवसायीहरु भने पोखराको हवाई पर्यटन बन्द गर्नुभन्दा पहिले यसको विकल्प दिइनुपर्ने बताउँछन्।
पोखराको पुरानो विमानस्थलबाट पोखरामा अल्ट्रालाइट उडान व्यवसाय गरिरहेका पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थलका कारण अन्य हवाई गतिविधिहिरु रोकिहाल्नुपर्छ भन्ने नलाग्ने बताउँछन्। उनले नयाँ विमानस्थल सञ्चालनमा आएपछि अल्ट्रालाइट, जाइरोकोप्टर र हेलिकोप्टरहरु पुरानो विमानस्थलबाट उडाउन सकिने उपाय सुझाएका छन्।
अन्य उडानहरु नयाँ विमानस्थलबाट हुने भएकाले पर्यटकीय उडानहरु पुरानोबाट सञ्चालन गर्न सरकारले अनुमति दिनुपर्ने उनको भनाइ छ। ‘पुरानो विमानस्थललाई अन्य प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ। जस्तो– पाइलट तालिम विद्यालय पनि सञ्चालन गर्न सकिन्छ,’ उनले नेपाल समयसँग भने।
अहिले पोखराको आकाशमा चार वटा कम्पनीका १८ वटा अल्ट्रालाइट र ६ वटा हेलिकोप्टरले उडान गर्दै आएका छन्। कोरोना महामारी अगाडि हेलिकोप्टरका मात्रै दैनिक ५० उडान हुन्थे। श्रेष्ठका अनुसार पोखरा र यस क्षेत्रमा आउने पर्यटक मध्ये ५० प्रतिशत साहसिक पर्यटनको लागि आउने गरेका छन् भने आफ्नो बजेटको ५० प्रतिशत रकम साहसिक पर्यटनमा खर्च गर्ने गरेका छन्।
नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष भण्डारीले पनि नयाँ विमानस्थल सञ्चालन हुनेबित्तिकै सरकारले यसलाई प्रभावकारी अनुगमन गरेर सञ्चालन गर्नुपर्ने बताए। ‘अहिले सबैजसो आकाश होल्ड गरेर उडाउने प्रवृत्तिलाई नियमन गर्न जरुरी छ,’ भण्डारीले भने, ‘नयाँ विमानस्थल सञ्चालन हुनेबित्तिकै अरु उडानहरु बन्द गरिहाल्नुपर्छ भन्ने छैन।’
ना का अनुसार पोखरामा ६० कम्पनीले प्याराग्लाइडिङ उडान गर्दै आएका छन्। जसमा ३५० पाइलटसहित एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने २ अर्ब कुल लगानी छ। ना कै आयोजनामा पोखरामा हरेक वर्ष अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिप पनि हुँदै आएको छ। जुन प्रतियोगिता कोरोनाका कारण विगत दुई वर्षदेखि हुन सकेको छैन।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणले भने पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेबित्तिकै अरु सबै पर्यटकीय उडानहरु बन्द गरिनुपर्ने तर्क गर्दै आएको छ। अन्तर्राष्ट्रिय नागरिक उड्यन संगठन –आईकाओ)को नियमअनुसार पनि अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्र कुनै पनि हवाई गतिविधि सञ्चालन गर्न पाइँदैन। नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेबित्तिकै हाल सञ्चालनमा रहेको पोखरा विमानस्थल पनि बन्द गर्नुपर्ने अवस्था आउने प्राधिकरणको भनाइ छ।
अहिले पोखराको आकाशमा चार वटा कम्पनीका १८ वटा अल्ट्रालाइट र ६ वटा हेलिकोप्टरले उडान गर्दै आएका छन्।
पोखराका पर्यटन व्यवसायीहरुले अहिले कास्कीको सराङकोट र कास्कीकोटको तोरीपानीबाट प्याराग्लाइडिङ उडान गर्दै आइरहेका छन्। अल्ट्रालाइट उडान भने विमानस्थलबाटै हुने गरेको छ।
अन्तर्राष्ट्रिय उडान हुने र यहाँको प्याराग्लाइडिङ बन्द भयो भने स्याङ्जाको स्वरेक, बागलुङको बलेवा र बन्दीपुरबाट उडान गर्न सकिने विकल्प पनि छन्। यी ठाउँबाट प्याराग्लाइडिङ परीक्षण उडानहरु पनि सफल भइसकेका छन्।
तर सराङकोटको प्याराग्लाइडिङ स्याङ्जा, तनहुँ तथा बागलुङमा पुग्यो भने पोखरामा पर्यटकको बसाइ झन् छोटिने त्रास होटल व्यवसायीमा छ। पश्चिमाञ्चल होटल संघका अनुसार अहिले पोखरामा एक विदेशी पर्यटकको बसाइ औसत साढे २ रात रहेको छ।
कोरोना संक्रमण घटाउन गरिएको निषेध आदेशका कारण गत जेठमा सम्पन्न गर्ने भनिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ मिति घोषणा गरिएको थियो। विमानस्थल परियोजना प्रमुख विनेश मुनाकर्मीका अनुसार अंग्रेजी नयाँ वर्षमा आन्तरिक उडान र नेपाली नयाँ वर्षदेखि अन्तर्राष्ट्रिय उडान गर्ने तयारी छ। उनले विमानस्थलमा ८५ प्रतिशत काम पूरा भएको जानकारी दिए।
तोकिएकै समयमा विमानस्थल सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा नागरिक उड्डयन कार्यालयका प्रमुख विक्रमराज गौतमको संयोजकत्वमा एक कमिटी गठन गरेको छ। अहिलेकै गतिमा काम भएमा आन्तरिक र बाह्य उडान तोकिएको समयमा गर्न सकिने गौतमले दावी गरे।
नयाँ विमानस्थल निर्माणका लागि वि.सं. २०३२ सालमा सरकारले ३१ सय रोपनी जग्गा अधिग्रहण गरेको थियो। सन् २०१७ मा शुरु भएको विमानस्थल निर्माण हुन करिब ५ वर्ष लागेको छ। जसका लागि पोखरेली पर्यटन व्यवसायी र नागकिहरुले लामो सडक संघर्ष गर्नुपरेको थियो।
पोखरा साँघुरो उपत्यका भएका कारण पूर्वबाट मात्र अवतरण र उडान गर्न सक्ने विज्ञहरूको मत अनुसार वाइडबडी जहाजको सट्टा करिब १८० सिट क्षमताका न्यारोबडीका जहाज मात्र सञ्चालन गर्न सकिने हिसाबले २५ सय मिटर धावनमार्ग भएको विमानस्थल निर्माण भइरहेको छ।
आयोजना प्रमुख मुनाकर्मीका अनुसार निर्माणाधीन विमानस्थलको पूर्वमा रहेको लेखनाथको रिठ्ठेपानी डाँडाको उचाइ ४० मिटर काट्न बाँकी नै छ। उनले डाँडामा भएका रुखहरु संघीय सरकारको समन्वयमा कटान गरेपछि मात्र डाँडा कटान गर्न सकिने बताए। यसैगरी विमानस्थल सुरक्षित सञ्चालनका लागि विमानस्थल नजिकै रहेको पोखराको फोहर व्यवस्थापन गरिँदै आएको ल्यान्डफिल साइटलाई अन्यत्र स्थानान्तरण गर्नु आवश्यक रहेको उनको भनाइ छ।
चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्ब रुपैयाँ लागतमा चिनियाँ ठेकेदार कम्पनी सीएएमसी विमानस्थलको निर्माण कार्यमा संलग्न छ। पटक पटक गरी सरकारले कूल ३,८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ। मुआब्जा वितरणमा मात्र चार अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ। पटक पटक जग्गा अधिग्रहण हुँदा स्थानीय पनि आयोजनाविरुद्ध आन्दोलनमा उत्रिएका थिए।