काठमाडौं– नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षक (आईजीपी)हरूले राष्ट्रपति निवास नजिकै रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय तत्काल खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटार प्रधानमन्त्री देउवालाई भेटेर पूर्वआइजीपीहरुले केपी शर्मा ओली सरकारले गरेको पुलिस एकेडेमी सार्ने निर्णय तत्काल खारेज गर्न माग गरेका हुन्।
'नेपाल प्रहरीका लगभग असी हजार बहालवाला प्रहरी र लाखौंको संख्यामा रहेका पूर्वप्रहरी कर्मचारीहरुको ऐतिहासिक एवं भावनात्मक सम्बन्ध गाँसिएको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पूरै जग्गा (१३०-३-०-० रोपनी) र प्रहरीका पुर्खाको रगतपसिनाले आर्जेको भौतिक सम्पत्तिसमेत राष्ट्रपति कार्यालयको सुविधा बढाउनका लागि तत्कालीन नेपाल सरकारले २०७५/०५/२१ गते गरेको निर्णय अदूरदर्शी, अव्यवहारिक र पूर्णतः अवैज्ञानिक छ,' प्रहरीका पूर्वमहानिरीक्षक मोतिलाल बोहराले फेसबुकमा लेखेका छन्, 'तसर्थ बहालवाला तथा लाखौं पूर्व प्रहरी कर्मचारीहरुको मनोवल एवं भावनामा प्रत्यक्ष कुठाराघात गर्ने गरी भएको उक्त मन्त्रिपरिषदको निर्णय खारेज गरियोस् भनी आफू स्वयम् इतिहासको अंग भइसकेका १४ जना प्रहरीका पूर्वमहानिरीक्षकहरुले प्रधानमन्त्री निवास बालुवाटारमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र प्रस्तुत गर्नु भएको छ।'
ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७५ भदौ २१ गते राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) काभ्रेको पनौती सार्ने निर्णय गरेको थियो।
यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ