काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार र एमालेलाई बदनाम गराउनका लागि ओम्नीकाण्ड उचालिएको आरोप लगाएका छन्। ललितपुरको गोदाबरी शुक्रबार सुरु भएको विधान महाधिवेशनमा समापन सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।
'हामीले गरेको काम देखेर केही प्रतिक्रियावादीहरू आत्तिए। जताततै एमाले सककारले काम गरेको गर्यै छ भनेर। कसरी हुन्छ एकैचोटि यति धेरै काम? जनता चकित परे। एमालेले सबै काम गर्ने भयो, लोकप्रिय हुने भयो भनेर केहीलाई त्रास भयो,' उनले दाबी गरे, 'एउटा डीजीले गर्ने काममा हामीलाई मुछियो। जताततै ओम्नी, ओम्नी, ओम्नी। मैले अख्तियारलाई बोलाएर छानबिन गर्न भनेँ। तै पनि रोकिएन। त्यो सबै हामीलाई बदनाम गर्नका लागि मात्र ल्याइएको थियो। त्यो उचालिएको थियो।'
उनले तत्कालीन नेकपामा प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रतिवेदनलाई पनि झुटको पुलिन्दा भएको आरोप लगाए।