काठमाडौं- बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडीले पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लब सातौं ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि जितेको छ।
उक्त जोडीले आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधी उचालेका हो। पविन र सुरोजको जोडीले डङ्गोल र महर्जनको जोडीमाथि २१–१४, २१–१६ को जित निकालेका हुन्। सो स्पर्धामा आयोजकका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी तथा ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडी तेश्रो भए।
विजयी खेलाडीहरुले नगद ६५ हजार, उपविजेताले नगद ४० हजार र तेश्रो हुने टोलीले नगद २०-२० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरेका छन्।
ललितपुर बालकुमारीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको भेट्रान्स् ४५ वर्षमाथिको प्रतिस्पर्धामा फ्रेन्डसिप ब्याडमिन्टन क्लबका शम्भु महर्जन र राजकुमार राजकर्णिकारको जोडीले बाजी मार्यो।
उक्त जोडीले सनराइज् ब्याडमिन्टन क्लबका दीपक राना र टिका थापाको जोडीलाई १३–२१, २१–१६, २१–१४ ले पराजित गर्दै जितलाई आफ्नो नाममा लेखाए। श्रीकृष्ण ब्याडमिन्टन क्लबका सुरेश बस्नेत र सिताराम श्रेष्ठको जोडी तथा इमाडोल ब्याडमिन्टन स्पोर्टस्का तीलक बुढाथोकी र दिल बहादुर कदङ्गवाको जोडीले तेश्रो स्थानमा चित्त बुझाए।
विजयी टिमले नगद ३० हजार, उपविजेता टिमले नगद २० हजार र तृतीय टिम प्रत्येकले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे।
विजयी खेलाडीहरुलाई लतिलपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।