काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि समूहगत छलफल भइरहेको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव र उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल भइरहेको हो।
महाधिवेशनमा देशभरका ६ हजार ३ सय ४७ जना प्रतिनिधि सहभागी छन्। १० वटा समूह बनाएर तीन वटै प्रस्तावमाथि बिहान ८ बजेबाटै छलफल सुरु गरिएको थियो।
पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार समूहगत छलफलको सहजीकरण गर्ने जिम्मा २० नेताले पाएका छन्। छलफलका लागि विभिन्न समूहलाई विधान महाधिवेशन स्थल गोदावरीस्थित ‘सनराइज सम्मेलन केन्द्र’मा छुट्टाछुट्टै स्थानको व्यवस्था गरिएको छ।
दस्तावेजमाथि छलफलका लागि प्रदेश १ को समूहको सहजीकरण सुवास नेम्वाङ र भीम आचार्यले गरेका छन्। देवराज घिमिरेले अध्यक्षता गरेका न्। प्रदेश २ को समूहको सहजीकरण सत्यनारायण मण्डल र रघुवीर महासेठले गरेका छन् भने अध्यक्षता ज्वाला साहले गरेकी छन्।
बागमती प्रदेश समूहको सहजीकरण अष्टलक्ष्मी शाक्य र रामबहादुर थापा तथा अध्यक्षता आनन्द पोखरेलले गरेका छन्।
गण्डकी प्रदेश समूहको सहजीकरण पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङले तथा अध्यक्षता जगत विश्वकर्माले गरिरहेको एमाले जनाएको छ।
लुम्बिनी प्रदेश समूहको सहजीकरण विष्णु पौडेल र शंकर पोखरेल तथा अध्यक्षता लीला गिरीले गरेका छन्। कर्णाली प्रदेश समूहको सहजीकरण युवराज ज्ञवाली र यामलाल कँडेलले गरिरहेका छन् भने अध्यक्षता गोरखबहादुर बोगटीले गरेका छन्। यस्तै सुदूरपश्चिम प्रदेश समूहको सहजीकरण भीम रावल र लेखराज भट्ट तथा अध्यक्षता कर्ण थापाले अध्यक्षता गरेका छन्।
उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र प्रवास क्षेत्रबाट आएकाहरुको समूहको सहजीकरणको जिम्मेवारी छविलाल विश्वकर्मा र राजन भट्टराईले पाएका छन्। त्यसको अध्यक्षता सुजिता शाक्यले गरेकी छन्। जनसंगठनहरुको समूहको सहजीकरण गोकर्ण विष्ट र टोपबहादुर रायमाझीले गरिरहेका छन् भने अध्यक्षता सुनिता बरालले गरेकी छन्।
यस्तै, केन्द्रीय निकाय र केन्द्रीय विभाग समूहको सहजीकरण अमृत बोहरा र पुष्प कँडेलले गरिरहेको जनाइएको छ। यसको अध्यक्षता भानु ढकालले गरिरहेका छन्।
एमालेले पहिलो पटक पार्टीको नीति र विधि निर्माणका लागि छुट्टै विधान महाधिवेशनको आयोजना गरेको हो। प्रस्तुत प्रतिवेदनहरुमाथि आइतबार प्रतिनिधिहरुले उठाएका प्रश्नको जवाफ दिएपछि महाधिवेशन समापन हुनेछ। अध्यक्ष ओलीले शुक्रबार सो महाधिवेशनको उद्घाटन गर्दै पार्टी विभाजनको मुख्य योजनाकार पुष्पकमल दाहाल र माधव नेपाल भएको आरोप लगाएका थिए। १० औं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने र त्यसले पार्टीको नेतृत्व चयन गर्ने एमालेले जनाएको छ।