विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङको गाउँ/नगर अधिवेशनका लागि शुक्रबार मनोनयन दर्ता भएको छ। अधिकांश स्थानीय तहमा संस्थापन र पौडेल पक्षबाट प्यानल नै उम्मेदवारी दर्ता भएको छ।
विराटनगर महानगरपालिकाको सभापतिमा चार जनाको उम्मेदवारी परेको छ। प्रदेश १ को एउटा मात्रै महानगरपालिकाको सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रबार मनोनयन दर्ता गराएका छन्।
विराटनगरको वडा तहमा चारै जना दाबेदारको पकड राम्रो मानिन्छ। विराटनगरमा हुने पार्टीको निर्वाचनमा ६ सय ८१ जनाले मतदान गर्ने छन्। विराटनगरको दुई उपसभापतिमा धनराज गुरुङ, इन्दु सुवेदी (खतिवडा), नीरज कोइराला, दीपेन्द्रकुमार स्वर्णकार र प्रवीण जोशीले मनोनयन दर्ता गराएका छन्।
दुई सचिवका लागि सुजन दाहाल, तेजिन्द्र भट्टराई, झुमा निरौला (गौतम) र पेशल ढुंगेल गरेर चार जनाको उम्मेदवारी परेको छ। दुई सहसचिव पदका लागि दिवस नेपाल, गिरीशकुमार कोइराला, अस्विन कार्की, मुनाजिर हुसेन, सचिन पोखरेल र शिवप्रसाद पराजुली गरेर ६ जनाले मनोनयन दर्ता गराएका छन्।
कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साहले सभापतिमा मनोनयन दर्ता गरेका छन्। जसमा कामतलाई पौडेल समूहको महेश आचार्यहरूको समर्थन रहेको छ भने माझी देउवा समूहका उमेद्वार हुन्।
बुढीगंगामा जीतबहादुर थापा र रेवतीनारायण चौधरीले सभापतिमा मनोनयन दर्ता गराएका छन्। थापालाई डा. शेखर कोइरालाको समर्थन रहेको छ भने चौधरीलाई देउवा समूहको समर्थन छ।
रंगेली नगरपालिकामा सभापतिमा जीतनारायण खवास र जगनाथ मण्डलले मनोनयन दर्ता गराएका छन्। यी दुवै देउवा समूहका भए पनि खवास देउवा समूहका दिलीप गच्छदारका ज्वाइँ हुन् भने मण्डल सोही समूहका अमृत अर्याल निकट रहेको बुझिएको छ। खवासलाई पौडेल समूहका डा. मिनेन्द्र रिजालको समर्थन छ।
सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह बैजनाथ झाले सभापति पदमा मनोनयन गरेका छन्। कमलकिशोर सिंह देउवा समूहका हुन्। रतुवामाईको सभापतिमा कनैयौलाल राजवंशी र पोस्टबहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन्। सुन्दरहरैचामा महेन्द्र धिमाल र भक्ति सिटौलाले सभापतिमा मनोनयन दर्ता गराएका छन्। धिमाल देउवा समूहका हुन् भने सिटौला पौडेल–कोइराला निकट हुन्।
बेलबारीको सभापतिमा छत्र लिम्बु र शम्भु भट्टराईले मनोनयन गरेका छन्। लिम्बु पौडेल समूहका हुन् भने भट्टराई देउवा समूहका हुन्।
पथरीशनिश्चरेको सभापतिमा ईश्वर थापा, लोकमान खरेल र रूपनारायण भट्टराईले उमेद्वारी दर्ता गराएका छन्। खरेल देउवा समूह, भट्टराई पौडेल समूहका कोइराला र थापालाई पौडेल समूहकै महेश आचार्यको समर्थन रहेको बताइएको छ।
उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापति सहितका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन्। उर्लाबारीमा सुरेन्द्र लिम्बु सहित (सचिव बाहेक) सबै पदमा सर्वसम्मत भएको छ। लिम्बु पौडेल समूहका हुन्। केराबारीमा पनि सभापति सहित सबै पदमा सर्वसम्मत भएको छ।
जदहामा महेन्द्र मण्डलसहित सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन्। मण्डल देउवा समूहका हुन्। केराबारीमा प्रकाश बस्नेत सभापतिमा सर्वसम्मत भएका छन्। उर्लाबारी र केराबारीका सर्वसम्मत दुवै सभापति पौडेल समूहका हुन्। धनपालथानमा सभापतिबाहेक पदाधिकारीमा सर्वसम्मत भए पनि सभापतिमा दीपकवीर पाण्डे र वासुदेव रायको उमेद्वारी दर्ता भएको छ। मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेतले सभापतिमा मनोनयन दर्ता गराएका छन्। मिक्लाजुङमा सभापति बाहेक सबै पदमा सर्वसम्मत भएको छ।
शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले बताए। पार्टीको विधान अनुसार प्रत्येक पालिकामा सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ जना निर्वाचित हुने छन्। कोषाध्यक्षलाई भने पछि निर्वाचित कार्यसमितिले मनोनीत गर्ने प्रावधान छ।