विराटनगर- नेपाली कांग्रेस मोरङमा पालिकास्तरको नेतृत्वका लागि शुक्रबार उम्मेदवारको मनोनयन दर्ता भएको छ। अधिकांश स्थानीय तहहरुमा संस्थापन र पौडेल–कोइराला पक्षबाट प्यानल नै उम्मेदवारी दर्ता भएको छ।
प्रदेश १ को एक मात्रै महानगरपालिकाको सभापतिका लागि दीपक चापागाईं, सन्तोष न्यौपाने, अरुण न्यौपाने र कृष्णबहादुर कार्कीले शुक्रबार उम्मेदवारीका लागि मनोनयन दर्ता गराएका हुन्।
विराटनगरको वडा तहमा चारै जना दाबेदारको पकड राम्रो मानिन्छ। विराटनगरमा हुने पार्टीको निर्वाचनमा ६ सय ८१ जनाले मतदान गर्ने छन्। विराटनगरको दुई उपसभापतिमा धनराज गुरुङ, इन्दु सुवेदी (खतिवडा), निरज कोइराला, दीपेन्द्रकुमार स्वर्णकार र प्रवीण जोशीले मनोनयन दर्ता गराएका छन्।
दुई सचिवका लागि सुजन दाहाल, तेजिन्द्र भट्टराई, झुमा निरौला (गौतम) र पेशल ढुंगेल गरेर ४ जनाको उम्मेदवारी परेको छ। दुई सहसचिव पदका लागि दिवस नेपाल, गिरिशकुमार कोइराला, अश्विन कार्की, मुनाजिर हुसेन, सचिन पोखरेल र शिवप्रसाद पराजुली गरेर ६ जनाले मनोनयन दर्ता गराएका छन्।
कटहरी गाउँपालिकामा रामकुमार कामत, हरिनारायण माझी र शम्भु साहले सभापतिमा मनोनयन दर्ता गरेका छन्। जसमा कामतलाई पौडेल समूहको महेश आचार्यको समर्थन रहेको छ भने माझी देउवा पक्षधर हुन्।
बुढीगंगामा जितबहादुर थापा र रेवतीनारायण चौधरीले सभापतिमा मनोनयन दर्ता गराएका छन्। थापालाई डा शेखर कोइरालाको समर्थन रहेको छ भने चौधरीलाई देउवा समूहको।
रंगेली नगरपालिकामा सभापतिमा जितनारायण खवास र जगनाथ मण्डलले मनोनयन दर्ता गराएका छन्। यी दुवै देउवा समूहका भएपनि खवास मोरङका नेता दिलीप गच्छदारका ज्वाइँ हुन् भने मण्डल सोही सुमूहका अमृत अर्याल निकट रहेको बुझिएको छ। खवासलाई पौडेल समूहका डा. मिनेन्द्र रिजालको समर्थन छ।
सुनवर्षी नगरपालिकामा महेश्वर राजवंशी, कमलकिशोर सिंह वैजनाथ झाले सभापति पदमा मनोनयन गरेका छन्। कमलकिशोर सिंह देउवा समुहका हुन्। रतुवामाईको सभापतिमा कनैयौलाल राजवंशी र पोष्टबहादुर बस्नेतले मनोनयन दर्ता गराएका छन्। सुन्दर हरैँचामा महेन्द्र धिमाल र भक्ति सिटौलाले सभापतिमा मनोनयन दर्ता गराएका छन्। धिमाल देउवा समूहका हुन् भने सिटौला पौडेल–कोइराला निकट हुन्।
बेलबारीको सभापतिमा छत्र लिम्बू र शम्भु भट्टराईले मनोनयन गराएका छन्। लिम्बू पौडेल समुहका हुन् भने भट्टराई देउवा समूहका नेता मानिन्छन्।
पथरी शनिश्चरेको सभापतिमा ईश्वर थापा, लोकमान खरेल र रुपनारायण भट्टराईले उमेद्वारी दर्ता गराएका छन्। खरेल देउवा समुह, भट्टराई पौडेल समूहका कोइराला र थापालाई पौडेल समूहकै महेश आचार्यको समर्थन रहेको बताइएको छ।
उर्लाबारी नगरपालिका, जहदा, र केराबारी गाउँपालिकामा सभापति सहितका पदाधिकारीहरु सर्वसम्मत चयन भएका छन्। उर्लाबारीमा सुरेन्द्र लिम्बूसहित सचिव बाहेकका सबै पदमा सर्वसम्मति भएको छ। लिम्बू पौडेल समूहका हुन्।
केराबारीमा पनि सभापतिसहित सबै पदमा सर्वसम्मति भएको छ। जदहामा महेन्द्र मण्डलसहितका पदाधिकारी सर्वसम्मत भएको मोरङ कांग्रेसले जानकारी दिएको छ। मण्डल देउवा समूहका हुन्। केराबारीमा प्रकाश बस्नेत सभापतिमा सर्वसम्मत भएका हुन्।
उर्लाबारी र केराबारीका सर्वसम्मत दुवै सभापतिलाई पौडल समूह र डा शेखर कोइरालाको समर्थन रहेको छ। धनपालथानमा सभापतिबाहेक पदाधिकारीहरुमा सर्वसम्मत भएपनि सभापतिमा दिपकवीर पाण्डे र वासुदेव रायको उम्मेदवारी दर्ता भएको छ।
मिक्लाजुङमा बबि राई र अरुणविक्रम बस्नेतले सभापतिमा मनोनयन दर्ता गराएका छन्। मिक्लाजुङमा पनि सभापतिबाहेक सबै पदमा सर्वसम्मति छ।
शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्मलाई मतदानको समय तोकिएको प्रमुख निर्वाचन अधिकृत केदार कार्कीले बताए। पार्टीको विधान अनुसार प्रत्येक पालिकामा सभापति १, उपसभापति २, सचिव २ र सहसचिव २ जना निर्वाचित हुने छन्। कोषाध्यक्षलाई भने पछि निर्वाचित कार्यसमितिले मनोनित गर्ने प्रावधान छ।