काठमाडौं– अभिनेता सरोज खनालको निर्देशनमा ‘विरोध छैन’ बोलको गीत सार्वजनिक भएको छ। सरला श्रेष्ठको रचना समावेश गीतमा गरिबीको पीडाका कारण परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ।
सार्वजनिक भिडियोमा नेपाली समाजको यथार्थ देख्न सकिन्छ। पारिवारिक खुशीको लागि बाध्यतावश विदेशमा गर्नुपरेको संघर्ष अनि त्यसबीचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ। रचना रिमालको स्वरमा सार्वजनिक गीतमा संगीत कृति न्यौपानेको छ। कृतिको मिठासपूर्ण संगीतमा रचनाले न्यायपूर्ण स्वर भरेकी छिन्।
गीतको भिडियोमा मोडलद्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ। कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन्। साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन्। भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन्।
यसैबीच रचनाकार सरला श्रेष्ठले यो भिडियोबाट जुट्ने सम्पूर्ण रकम सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन्। आफूले मद्दत गर्दै आइरहेको शारीरिक तथा मानशिक अशक्तहरुको सेवामा उक्त रकम खर्चिने प्रतिवद्धता उनले जनाएकी हुन् ।