काठमाडौं– वरिष्ठ लोकसंस्कृतिविद् एवम् कवि तुलसी दिवस र महिला सशक्तीकरणकामा सक्रिय दुर्गा घिमिरे पोखरामा एकसाथ पुरस्कृत हुने भएका छन्। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्रदान गर्ने हेमदेवी पुरस्कारबाट दिवस र घिमिरे पुरस्कृत हुन लागेका हुन्।
पुरस्कारको राशि १ लाख रुपैयाँ छ। समितिले प्रत्येक २÷२ वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ। २०७८ सालको पुरस्कार संस्कृतिकर्मी तथा साहित्यकार तुलसी दिवसलाई दिन लागिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। घिमिरेलाई २०७६ सालमै यो पुरस्कार दिने घोषणा गरिएको थियो। तर, कोरोना माहामारीका कारण पुरस्कार प्रदान गर्न कार्यक्रम रोकिएको थियो।
१९९८ असारमा धनकुटामा जन्मिएका दिवस २९ वर्षको उमेरमै प्राज्ञ भएका थिए। उनी नेपालकै कान्छा प्राज्ञ मानिन्छन्। सानैदेखि कला, साहित्य, संस्कृतिमा रुचि राख्ने दिवस उच्च शिक्षको अध्ययनसँगै साहित्यतर्फ मोडिएका थिए भने संस्कृतिको अनुसन्धान पनि अगाडि बढाएका थिए।
लामो समय प्राध्यापकमासमेत बिताएका दिवसले विभिन्न जातजाति र संस्कृतिको अनुसन्धान गरेका छन्। त्यहीबीचमा दिवसमा गेस्ट कल्चरल प्रोफेसर भएर विभिन्न देश तथा प्रख्यात विश्वविद्यालयमा गए।
जापान, कोरिया, बेलायत, अमेरिकाजस्ता दर्जन देशमा लोकवार्तासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका दिवसका नेपाली लोक कथा, नेपाली लोककथा केही अध्ययन, धिमाल प्रदर्शनकारी लोकसंस्कृति, धिमाल लोकधर्म र संस्कृति, तुलसी दिवसका कविता, भारतबाट तुलसी दिवस की कविताएँ जस्ता कृतिहरु प्रकाशित छन्।
दिवसले सन् १९७४ र १९७८ मा लोकसंस्कृति विषयमा अमेरिकाको इष्ट वेस्ट सेन्टर, हवाई राज्यबाट र सन् १९७६/१९७७ र १९९६ मा जापानको टोकियो विश्वविद्यालयबाट लोकसाहित्य र संस्कृति सम्बन्धमा उच्च क्षिक्षा हासिल गरेका हुन्।
त्यसरी नै उनले गाकुसुमन विश्वविद्यालय टोकियो जापानबाट लोकवार्ताशास्त्रमा पोस्ट ग्राजुएट डिप्लोमाको शिक्षा पनि हासिल गरेका छन्। दर्जनौं पुरस्कार, पदक र सम्मानबाट पुरस्कृत दिवस २४ वर्षको उमेरबाटै प्राध्यापन थालेका थिए।
घिमिरे चार दशकभन्दा लामो समयदेखि महिला बेचबिखनविरुद्ध तथा महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील छन्। ‘घिमिरेले महिला बेचबिखन तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि योगदान दिनुभएको छ। उहाँको योगदानको कदर र महिला सशक्तीकरणका क्षेत्रमा अरूलाई पनि लाग्न अभिप्रेरित गर्न यस वर्षको पुरस्कार घिमिरेलाई दिने निर्णय भएको छ,’ समितिका सचिव तीर्थले भने, ‘कोभिडका कारण प्रदान गर्ने मिति तलमाथि भएको छ।’
२००५ साल वैशाख ३ गते सुनसरीको धरानमा जन्मेकी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालयवाट सन् १९७० मा अर्थशास्त्रमा एमए र १९७५ मा त्रिभुवन विश्वविद्यालयबाटै कानुनमा स्नातक गरेकी छन्। २०३३ सालदेखि सामाजिक सेवा र महिला अधिकारको क्षेत्रमा उनी क्रियाशील छिन्।