काठमाडौं- जिल्ला प्रसाशन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाडमा रोक लगाएको छ। एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनले अनावश्यक भिडभाड, मेला-महोत्वमा रोक लगाएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिस जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज गर्न नपाउने भनिएको छ।
अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको विज्ञप्तिमा उल्लेख छ। कोरोना महामारी कायमै रहेकाले चाडपर्वमा बढ्दो भीडभाडलाई नियन्त्रण गर्न यस्तो आदेश गरिएको प्रशासनले जनाएको छ।