नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रक्रिया जारी छ । यद्यपि महाधिवेशनको प्रक्रिया स्वाभाविक रुपमा अगाडि बढेको छैन। महाधिवेशनका प्रक्रिया स्वाभाविक ढंगले अगाडि बढ्दा कार्यतालिका पटकपटक सार्नुपर्दैनथ्यो। देशभरका सबै वडाको अधिवेशन एकै दिन हुन्थ्यो। अनि पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशन पनि तोकिएकै दिनमा हुन्थ्यो। तर यस पटक त्यसो हुन सकेको छैन। कुनै जिल्लाको अधिवेशन सकिन लाग्दा पनि कुनै जिल्लाको क्रियाशील सदस्यताको टुंगो छैन। यो सबै अवस्था हेर्दा कांग्रेस एउटा प्रसव पीडामा गुज्रिरहेको आभास हुन्छ।
कांग्रेसको विधानमा सदस्यता प्राप्त गरेको एक वर्ष पुगेपछि क्रियाशील सदस्यताका लागि आवेदन दिन पाउने व्यवस्था छ। यस्तै प्रत्येक ६ महिना सदस्यता विवरण अद्यावधिक गर्नुपर्ने प्रावधान छ। यस्ता प्रावधानविपरीत १४ औं महाधिवेशनको प्रक्रिया थालनी भएपछि चार लाख नयाँ सदस्य थपेर नौ लाख क्रियाशील सदस्य आबद्ध भएका छन्। ७५ वर्षे इतिहासमा पाँच लाख क्रियाशील सदस्य रहेका कांग्रेसमा १४ औं महाधिवेशन प्रक्रिया सुरु भएपछि चार लाख क्रियाशील थपिए। महाधिवेशन प्रक्रिया सुरु भएपछि थप गरिएका क्रियाशील सदस्यबाट कस्तो कांग्रेसको अपेक्षा गर्ने? थपिएका झन्डै ६० प्रतिशतभन्दा बढी क्रियाशील सदस्यलाई कांग्रेसको इतिहास, दर्शन र कांग्रेस बनाउन योगदान दिने व्यक्तित्व र सहिदबारे जानकारी छैन। अझ धेरैलाई त कांग्रेस विधानबारे पनि जानकारी छैन। यसबाट के स्पष्ट हुन्छ भने बलपूवर्क नेतृत्वमा आउने सम्भावना बढ्दै गएको छ। यो प्रवृत्तिले कांग्रेसलाई कहाँ पुर्याउँछ? प्रश्न गम्भीर छ।
टोलटोलदेखि आफ्नो पक्ष र अर्को पक्षको भनेर कार्यकर्तालाई भाग लगाइएको छ। हिजो कांग्रेसमा लगानी गरेकाहरु अहिले नेता भन्नेहरुबाट उपेक्षित छन्।
स्थानीय तहको अधिवेशनमा देखिएका केही गतिविधि हेर्दा कांग्रेस संगठनमा अनुशासन शून्य देखिन्छ। कार्यकर्तामा मात्र होइन नेतृत्वमा पुग्नेहरुसँग पनि अहंकार र विवेकशून्यता छ। नेतृत्वमा पुग्नेहरुले पार्टीमा सदस्य बनाउने हैन, आफू राम बनेर हनुमानको खोजी गरिरहेको अवस्था छ। टोलटोलदेखि आफ्नो पक्ष र अर्को पक्षको भनेर कार्यकर्तालाई भाग लगाइएको छ। हिजो कांग्रेसमा लगानी गरेकाहरु अहिले नेता भन्नेहरुबाट उपेक्षित छन्।
पार्टीको मात्र होइन पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरु काम गर्न नसक्ने अवस्थामा छन्। भ्रातृ तथा शुभेच्छुक संस्थाामा रहेका नेतृत्वले मागी खाने भाँडोका रुपमा ती संस्थालाई प्रयोग गरिरहेका छन्। यसबारे कांग्रेस नेतृत्वलाई चासो छैन। पार्टी नेतृत्वले दसौं वर्षदेखि तदर्थवादमा चलेका भ्रातृ संस्थाको अधिवेशन गराउनसमेत अग्रसरता देखाएको छैन। आफैं अधिवेशन गर्न भ्रातृ संस्था स्वायत्त छैनन्। पार्टी नियन्त्रणले थिचिएका नेविसंघ, तरुण दल, महिला संघ लगायत भ्रातृ संस्था अहिले नेतृत्वको निगाहमा प्रत्येक ६ महिना म्याद थप्दै चलेका छन्। शुभेच्छुक संस्थाको हालत पनि यस्तै छ।
कांग्रेसको आदर्श नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो। यसको मतलब वीपी कोइरालाका पालामा अर्थात् सत्तारोहण नभइन्जेल कांग्रेस समाजवादी पार्टी हो। नाम मात्र समाजवादी भएर पार्टी समाजवादी हुँदैन। विधि, परिपाटी र कार्यकर्ताको आचरण पनि समाजवादी हुनुपर्छ। तर कांग्रेसका नेताहरु समाजवादी हैन, अवसरवादी, सामन्ती सोचमा छन्।
संगठनमा देखिएको अनुशासनहीनता, भ्रातृ तथा शुभेच्छुक संस्थाको अवस्था र नेताहरुमा आएको सैद्धान्तिक विचलन हेर्दा कांग्रेस संगीन मोडमा पुगेको छ। त्यो भनेको बीपी कोइरालाले भनेझैं बाहुबली कांग्रेस हो। बीपीले भनेजस्तै कांग्रेसलाई सुकिलामुकिलाले घेरिसकेका छन्। इमानदार नेताकार्यकर्ताले अब कांग्रेसलाई सुकिलामुकिलाबाट मुक्त गराउने समय आइसकेको छ।
१४ औं महाधिवेशन प्रक्रियाका गतिविधि हेर्दा कांग्रेस इतिहास मात्र बन्ने किसुकिलामुकिलाबाट मुक्त गराएर साँच्चैको कांग्रेस बन्ने भन्ने द्वन्द्वको प्रसव पीडामा छटपटाइरहेको छ। यो पीडाबाट सुकिलामुकिलाबाट मुक्ति पाएको कांग्रेस, साँच्चै समाजवादी कांग्रेस र अनुशासित कार्यकर्ता भएको कांग्रेस बनाउन नेताकार्यकर्ताले सुडेनीको भूमिका निर्वाह गर्न जरुरी छ।