टोकियो- लिबरल डेमोक्रेटिक पार्टी (एलपिडी)को नेतृत्वको चुनाव जितेसँगै फुमियो किशिदा जापानको सयौं प्रधानमन्त्री बन्ने भएका छन्।
गत वर्ष सेप्टेम्बरमा योशिहिदे सुगा प्रधानमन्त्री बनेका थिए। एक वर्षको कार्यकालपछि उनले नेतृत्व छोडेका हुन्। किशिदा सम्भवत: अक्टोरब ४ मा संसद्को सेसनबाट प्रधानमन्त्री बन्ने भएका छन्। संसद्मा किशिदाको पार्टीको बहुमत भएले उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो।
बुधबार भएको चुनावमा किशिदाले २५७ मत पाएका थिए। खोपमन्त्री तारो कोनोले भने १७० मत पाएको जापानी समाचार संस्था कोयदो न्युजले जनाएको छ।
पहिलो चरणको चुनावमा दुई महिला प्रतिस्पर्धी सानाइ टाकाइची र सेइको नोडा पनि थिए। तर सानाइले एक सय ८८ मत र सेइकोले ६३ मत पाएपछि चुनावी दौडबाट बाहिरिएका थिए।
जापानमा एलपिडीको नेतृत्वको चुनाव जित्ने नेता प्रधानमन्त्री बन्ने गरेका छन्। सदनमा यही पार्टीको बहुमत छ।
को हुन् किशिदा ?
एक राजनीतिक परिवारबाट आएका किशिदा एक मध्यमार्गी लिबरल व्यक्ति हुन्। ६४ वर्षीय किशिदाका बुबा र हजुरबुबा पनि मुलुकको संसद् सदस्य भएका थिए। सन् २०१२ मा विदेशमन्त्री भएका उनी मुलुकको सबैभन्दा बढी समय विदेशमन्त्री हुने व्यक्ति हुन्।
हिरोसिमाका स्थायी बासिन्दा रहेका उनले सन् २०१७ सम्म विदश मन्त्रालय सम्हालेका थिए। उनले आणविक हतियारको प्रयोग गर्न नहुने बताउँदै आएका छन्।
उनले सन् २०१६ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाको जापानको हिरोशिमा भ्रमणको व्यवस्थापन गरेका थिए। अमेरिकाले नै बम प्रहार गरेर ध्वस्त बनाएको सहर भ्रमणमा आउने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुन्।
किशिदाले विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानलाई कोरोना प्रतिबन्धलाई हटाउने व्यवस्था मिलाउने बताएका छन्।