 
                                                                                 
                                                                
                                                                                        
                                                        सुर्खेत– नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कर्णालीका ६२ स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ। कर्णालीका ७९ स्थानीय तहमध्ये १७ स्थानीय तहमा गाउँ/नगरको अधिवेशन हुन बाँकी छ। 
सुर्खेतका नौ र डोल्पाका ८ स्थानीय तहमा अधिवेशन भएको छैन। क्रियाशील सदस्यता विवाद टुंगिए पनि सुर्खेत र डोल्पामा अधिवेशनको कार्यतालिका तोकिएको छैन।
निर्वाचन सम्पन्न गाउँ/नगरको अधिवेशनलाई आधार मान्ने हो भने कर्णाली प्रदेशमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ। अधिवेशन सम्पन्न भएका ६२ मध्ये ३४ स्थानीय तहमा पौडेल समूहले बहुमत पदाधिकारीसहित सभापति हात पारेको सम्बन्धित जिल्लाका निर्वाचन अधिकारीले बताएका छन्।
पौडेल समूहले कालीकोट, दैलेख, रुकुमपश्चिम र जुम्लामा पकड कायम राखेको छ। सल्यान र जाजरकोटमा भने दुवै समूह बराबरी देखिएका छन्। पौडेल समूहले कालीकोटका ७, दैलेख र जुम्लाका ६–६, सल्यान र रुकुम पश्चिमका ५–५, जाजरकोटका ३, हुम्ला र मुगुका एकएक स्थानीय तहको नेतृत्व हात पारेको छ।
जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा भने खुलेका छैनन्।
कांग्रेस पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समूहले भने कर्णालीका २७ वटा स्थानीय तहमा सभापति हात पारेको छ। मुगु र हुम्लामा देउवा समूह बलियो छ। देउवा समूहले हुम्लाका ६, सल्यान र दैलेखका ५–५, जाजरकोट र मुगुका ३–३, कालीकोट र जुम्लाका २–२ र रुकुमपश्चिमका एक स्थानीय तहको सभापति हात पारेको हो। जाजरकोटको भेरी नगरपालिका सभापति शशि बुढा भने खुलेका छैनन्।
यी हुन् पौडेल समूहबाट सभापति
कर्णाली प्रदेशमा विभिन्न ३४ स्थानीय तहमा पौडेल समूहले गाउँ/नगरको सभापति हात पारेको छ। निर्वाचन सम्पन्न भएका ८ जिल्लामध्ये कालीकोटमा पौडेल समूहले बलियो उपस्थिति जनाएको छ। त्यहाँका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा पौडेल समूहले सभापतिसहित बहुमत नेतृत्व हात पारेको हो।
पौडेल समूहबाट तिलागुफा नगरपालिकामा धीरेन्द्र थापा, खाँडाचक्र नगरपालिकामा भानुभक्त शर्मा आचार्य, पलाँता गाउँपालिकामा धीरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति सन्ज्याल, सान्नीत्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, महाबै गाउँपालिकामा पुराधी अधिकारी र शुभकालिका गाउँपालिकामा दीर्घबहादुर शाही सभापति बनेका छन्। कालीकोटका ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
जुम्लाका ८ स्थानीय तहमध्ये ६ मा पौडेल समूहले बहुमतसहित नेतृत्व हात पारेको छ। पौडेलले समूहबाट चन्दननाथ नगरपालिकामा रवि थापा, कनकासुन्दरी गाउँपालिकामा लालु बुढा, हिमा गाउँपालिकामा नरबहादुर शाही, तिला गाउँपालिकामा भक्तबहादुर रोकाया, तातोपानी गाउँपालिकामा धनप्रसाद चौलागाई र पातारासी गाउँपालिकामा गोरबहादुर बोहोरा सभापति बनेका छन्।
दैलेखको ६ स्थानीय तहमा पनि पौडेल समूहले बहुमतसहित नेतृत्व हात पारेको छ। दैलेखको महावु पाउँपालिकामा कर्णबहादुर शाही, गुराँस गाउँपालिकामा चन्द्रबहादुर भट्टराई, ठाँटिकाध गाउँपालिकामा विष्णुप्रसाद रिजाल, भगवतीमाई गाउँपालिकामा खगेन्द्रबहादुर शाही, भैरवी गाउँपालिकामा हेमलाल जैसी र नौमुले गाउँपालिकामा गंगाबहादुर शाही पौडेल समूहबाट सभापति बनेका छन्।
सल्यान र रुकुमपश्चिमका ५–५ वटा स्थानीय तहमा पौडेल पक्षले सभापति हात पारेको छ। पौडेलले समूहबाट सल्यानको सिद्धकुमाख गाउँपालिकामा वीरबहादुर बुढाथोकी, शारदा नगरपालिका नगरपालिकामा दीपक हमाल, कपुरकोट गाउँपालिकामा यगराज वली, कालीमाटी गाउँपालिकामा गणेश केसी र दार्मा गाउँपालिकामा कृष्ण वली सभापतिमा निर्वाचित भएका छन्।
रुकुमपश्चिममा पौडेल पक्ष बलियो देखिएको छ। ६ स्थानीय तहमध्ये ५ स्थानीय तहमा पौडेल समूहले गाउँ/नगर सभापति हात पारेको हो। जसमध्ये चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफीकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणीमा गाउँपालिकामा दीपेन्द्र वली र सानीभेरी गाउँपालिकामा सन्तोष रोका पौडेल समूहबाट सभापति बनेका हुन्।
जाजरकोटमा पनि तीन स्थानीय तहमा पौडेल समूहले सभापति हात पारेको छ। नलगाड नगरपालिकामा जयबहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति र कुशे गाउँपालिकाका अमेरबहादुर थापा पौडेल समूहबाट सभापति बनेका छन््।
हुम्लाको सर्केगाड गाउँपालिकामा धनराज शाही र मुगुको छायानाथ रारा नगरपालिकामा राजबहादुर सेजुवाल पौडेल समूहबाट सभापति बनेका हुन्।
देउवा समूहबाट विजयी
कर्णाली प्रदेशमा कांग्रेस सभापति शेरबहादुर देउवा समूहले २७ वटा स्थानीय बहुमतसहित नेतृत्व हात पारेको छ। निर्वाचन सम्पन्न भएका ८ जिल्लामध्ये हुम्ला देउवा समूहको बलियो उपस्थिति जनाएको छ। हुम्ला कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमन्त्री जीवनबहादुर शाहीको गृहजिल्ला हो। हुम्लाका ७ स्थानीय तहमध्ये ६ स्थानीय तहमा देउवा समूहले बहुमतसहित नेतृत्व हात पारेको छ।
हुम्लाको सिमकोट गाउँपालिकामा धर्मराज रोकाय, खार्पुनाथ गाउँपालिकामा टेकबहादुर शाही, ताँजाकोट गाउँपालिकाम कृष्णबहादुर मल्ल, अदानचुली गाउँपालिकामा विष्णु भण्डारी, चंखेलीमा नरबहादुर भण्डारी र नाम्खा गाउँपालिकामा सोनाम लामा देउवा समूहबाट सभापति बनेका छन्।
दैलेख र सल्यानका ५–५ स्थानीय तहमा पनि देउवा समूहले नेतृत्व हात पारेको छ। देउवा समूहबाट दैलेखको नारायण नगरपालिकामा मनोज थापा, चामुण्डा विन्द्रासैनी नगरपालिकामा जगतबहादुर शाही, डुङ्गेश्वर गाउँपालिकामा भीमबहादुर भट्ट, दुल्लु नगरपालिकामा लालबहादुर रावत र आठबीस नगरपालिकामा अर्जुनबहादुर शाही सभापतिमा निर्वाचित भएका छन्।
सल्यानका पाँच स्थानीय तहमा देउवा समूहले सभापति हात पारेको छ। देउवा समूहबाट बागचौर नगरपालिकामा दीपेश डीसी, बनगाड कुपिन्डे नगरपालिकामा पुरुषोत्तम आचार्य, छत्रेश्वरी गाउँपालिकामा सीता केसी, त्रिवेणी गाउँपालिकामा गंगाराम पुन र कुमाख गाउँपालिकामा ईश्वरी शाही सभापतिमा निर्वाचित भएका हुन्।
मुगुका चारमध्ये तीन स्थानीय तहमा देउवा समूहले सभापति हात पारेको छ।
जाजरकोट र मुगुका तीन–तीन स्थानीय तहमा देउवा समूहले सभापति जितेको छ। देउवा समूहबाट जुनीचाँदे गाउँपालिकामा वीरेन्द्रबहादुर शाही, शिवालय गाउँपालिकामा जसवीर वली र छेडागाडमा टोपेन्द्र अधिकारी सभापतिमा निर्वाचित भएका छन्।
मुगुका चारमध्ये तीन स्थानीय तहमा देउवा समूहले सभापति हात पारेको छ। सोरु गाउँपालिकामा कुवेरजंग शाही, खत्याड गाउँपालिकामा लोकराज दाहाल र मुगुमकार्मारोङ गाउँपालिकामा गारा तामाङ सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन्।
जुम्ला र कालीकोटका दुई–दुई स्थानीय तहमा देउवा समूहले सभापति हात पारेको छ। जुम्लाका गुठीचौर गाउँपालिकामा टेकबहादुर भण्डारी र सिञ्जा गाउँपालिकामा गोविन्द शर्मा सभापति बनेका छन्। कालीकोटको रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला देउवा समूहबाट नै सभापति बनेका हुन्। रुकुमपश्चिमको मुसिकोट नगरपालिकामा पनि देउवा समूहकै प्रेम वली सभापति बनेका छन्।