काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु बदनियतपूर्ण भएको बताएका छन्। कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटवार्तामा अध्यक्ष ओलीले सरकारको नियतमाथि नै प्रश्न उठ्ने गरी निर्णय भएको बताएका हुन्।
उनले मन्त्रीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाउँदै भनेका छन्– अध्यादेश खारेज असंवैधानिक, षड्यन्त्रपूर्ण र वदनियतपूर्ण देखिएको छ। यसलाई तत्काल सच्याउनुस्।’ उनले संसदबाहे अन्यत्रबाट कानुन खारेज हुन नसक्ने स्पष्ट गरेका छन्।
कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को भएको उल्लेख गर्दै ओलीले संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन नसक्ने जिकिर गरेका छन्।
ओलीले कानुन मन्त्रीसँगको भेटमा सरकारको कदमप्रति एमालेको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाएको उनका प्रेस सहयोगी रामशरण बजगाईले बताए।