बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्री छान्न शीर्ष नेताहरू गोप्य छलफलमा, यी हुन् आकांक्षी र सम्भावित नाम

मन्त्री छान्न शीर्ष नेताहरू गोप्य छलफलमा, यी हुन् आकांक्षी र सम्भावित नाम

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन्। बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको छलफलपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। 
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझसम्ममा मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन्। बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको छलफलपछि देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन्। 

प्रधानमन्त्री निकट स्रोतका अनुसार देउवाले प्रचण्डलाई मन्त्रीको सूची उपलब्ध गराउन आग्रह गरेका थिए। जवाफमा प्रचण्डले आजै मन्त्रीको सूची उपलब्ध गराउने बताएको स्रोतको दाबी छ। यसअघि देउवाले कांग्रेसका दुई, माओवादीका दुई र एक राज्यमन्त्री नियुक्त गरेका थिए। समाजवादी पार्टीले समेत चार जनाको नाम पठाउने तयारी गरिरहेको छ। 

पाँच दलीय गठबन्धनका नेताहरू मन्त्रिपरिषद्लाई पूर्णता दिन लागिपरेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा, एमालेको माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल जारी छ।

सबै पक्षले नाम दिएमा आजै मन्त्रिपरिषद् विस्तार भएर आजै मन्त्रीहरूको शपथ हुने नभए भोलि (शुक्रबार)सम्म मन्त्रीपरिषद्ले पूर्णता पाउने स्रोतको दाबी छ।

यस्तै मन्त्रिपरिषद् विस्तार, मन्त्रालय भागबन्डा र अन्य राजनीतिक नियुक्तिका विषयमा सहमति जुटाउन सत्ता गठबन्धनका नेताहरू गोप्य छलफलमा जुटेका छन्। बिहीबार बिहान माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डसँग छलफल गरेका प्रधानमन्त्री देउवाले गठबन्धनका नेताहरू बसेर कुरा मिलाउन भनेका थिए। 

उक्त निर्देशनपछि अहिले कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा जनता समाजवादी पार्टी (जसपा)बाट उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईबीच गोप्य वार्ता भइरहेको छ। 

वार्ता बानेश्वर क्षेत्रमा भइरहेको स्रोतले जनाएको छ। उक्त वार्ताले सहमति जुटाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री देउवाको तयारी छ। वार्तामा पावर सेयरिङबारे पनि छलफल भइरहेको छ।

कांग्रेसले आठ मन्त्रालयमा दाबी गरेको छ। यस्तै माओवादी केन्द्रले सात र जसपाले ६ मन्त्रालय पाउनुपर्ने अडान राखेका छन्। तीन दलबीच पावर सेयरिङका विषयमा सहमति जुट्न सकेको छैन। यस्तै  नेकपा एमालेको नेपाल समूहलाई कम्तिमा ६ मन्त्रालय छोड्नुपर्ने स्थिति छ। 

नेपाल समूहलाई ६ मन्त्रालय दिन देउवा र प्रचण्ड सहमत रहेको स्रोतको दाबी छ। नेपाल समूह सरकारमा जाने वा नजाने अहिलेसम्म टुंगो लाग्न सकेको छैन।

को–को बन्दैछन् मन्त्री?

कांग्रेसको संस्थापन समूहबाट पुष्पा भुसाल मन्त्री बन्ने पक्का जस्तै रहेको नेताहरू बताउँछन्। डा. नारायण खड्का, डा. डिला संग्रौला, देवेन्द्र कँडेल, बहादुर लामा, मानबहादुर विश्वकर्मालगायतका नेताहरूको नाम पनि चर्चामा छ। 

पौडेल समूहबाट सुजाता कोइराला उपप्रधानसहित परराष्ट्रमन्त्री बन्ने सम्भावना प्रवल रहेको स्रोतको दाबी छ। यस्तै  दिलेन्द्र बडूको समेत मन्त्रीमा सम्भावना धेरै छ। मिनेन्द्र रिजाल, राजन केसी, तेजुलाल चौधरी, प्रमोद यादव, प्रकाश स्नेहीले पनि लबिङ गरिरहेका छन्। सिटौला पक्षबाट गगन थापा, उमाकान्त चौधरी र भीमसेनदास प्रधान मन्त्री बन्ने लाइनमा देखिन्छन्। यी मध्ये चौधरीको सम्भावना धेरै रहेको स्रोत बताउँछ। 

माओवादीबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी र शिवकुमार मण्डललगायतको नाम चर्चामा छ। 

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, महेन्द्र राय यादव, रेणु यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादवलगायत मन्त्रीका आकांक्षी देखिएका छन्।

मन्त्रीको नाम टुंगो लगाउन दलहरू छलफलमा

मन्त्रिपरिषद् विस्तारको तयारी भएसँगै दलहरू मन्त्रीको नाम टुंगो लगाउन आन्तरिक छलफलमा जुटेका छन्। जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक अहिले जारी छ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो। 

यस्तै नेकपा माओवादी केन्द्रले समेत आजै मन्त्रीको नाम टुंगो लगाउने भएको छ। त्यसका लागि दिउँसोसम्म स्थायी कमिटीको बैठक बोलाउने तयारी भएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। 

‘बैठकको खबर आइसकेको छैन। सम्वभतः दिउँसोसम्म बैठक बसेर नाम फाइनल हुन्छ,’ उनले भने, ‘अध्यक्ष कमरेड मन्त्रिपरिषद् विस्तारकै तयारीमा व्यस्त हुनुपर्ने भएकाले जनकपुर जाने कार्यक्रम रद्द गर्नुभएको छ।’

प्रकाशित: Jul 29, 2021| 05:53 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।