काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी छ। बैठक चलिरहँदा बैठकस्थल अघि कांग्रेसका नेता–कार्यकर्ता प्लेकार्ड सहित उपस्थित भएका छन्। उनीहरुले क्रियाशील सदस्यता छानबिन समितिको कामप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका हुन्।
उनीहरुले प्रदर्शन गर्दै प्रश्न गरेका छन्– हाम्रो क्रियाशील सदस्यता खोइ? रमेश लेखक नेतृत्वको छानबिन समितिले मंगलबार सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो। तर, समितिले धेरै ठाउँको विवाद समाधान गर्न सकेन।
सोही कारण कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरुले निकम्मा छानविन समिति मुर्दावाद, हाम्रो क्रियाशील खोइ? लगायतका नारा बोकेका प्ले कार्ड बोकेका छन्।
पदाधिकारी बैठकले छानबिन समितिलाई थप विषय मिलाउने गरी भोलि बिहीबारसम्मको समय दिएको छ। बैठकले प्रतिवेदनको स्वामित्व ग्रहण गरेको र भोलिसम्म थप विषय मिलाएर ल्याउन समितिलाई नै जिम्मेवारी दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।