काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट सांसदहरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १ बजे नेता नेपालले आफू निकट २२ जना सांसदहरूसँग छलफल गर्न लागेका हुन्।
शंखमुलस्थित साहना प्रधान स्मृति प्रतिष्ठानमा सांसदहरूसँग छलफल हुन लागेको नेपाल पक्षीय सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन्।
‘सबैसँग भेटघाट र छलफल पनि हुन नपाएकाले आज बोलाउनुभएको हो,’ उनले भनिन्, ‘पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुन्छ।’
अर्का एक सांसदले सरकारमा सहभागिताका विषयमा छलफल बोलाइएको जानकारी दिए। छलफलमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरू मात्रै सहभागी हुन लागेको बताइएको छ।
माधव नेपाल समूह पनि देउवा नेतृत्वको सरकारमा सहभागी हुने चर्चा भइरहेको छ। तर, आजै बसेको गठबन्धनको बैठकमा भने माधव नेपालको तर्फबाट सहभागी भएका डा. विजय पौडेलले आफूहरू अहिले सरकारमा सहभागी हुन नलागेको जानकारी गराएका थिए।