काठमाडौं- गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बुधबार मध्याह्न मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो। दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मृतकको सनाखत हुन सकेको छैन। जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको प्रहरीले जनाएको छ।
गुल्मी प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईका अनुसार जीपमा १० जना सवार थिए। दुर्घटनामा परेर ७ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले जनाकारी दिए। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ।
उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।