सुर्खेत– आफूलाई मेमोरी किङ भनेर दाबी गर्ने कालीकोटका विजय शाहीको मृत्युको खबर गलत सावित भएको छ। आज साँझदेखि शाही मृत भेटिएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो। तर खोजतलास गर्दा उनी सकुसल घरमै भेटिएका छन्।
कालीकोट प्रहरीका अनुसार उनी केही दिनदेखि बिरामी थिए। ‘दुई दिनदेखि बिरामी रहेछन् तर मृत्यु भएको भने होइन,’ कालीकोटका डीएसपी चक्रबहादुर शाहले भने, ‘प्रहरीले खोजतलास गर्दा घरमै भेटिएका छन्।’
उनको घर कालीकोटको महावै गाउँपालिका वडा नंं ५ मा हो। उनी केही दिनदेखि मानसिक समस्यामा रहेको प्रहरीले भनाइ छ। ‘बिरामी भएर आज दिँउसो अस्पताल ल्याउँदै गर्दा बाटोमा बेहोस भएको आफन्तले भनेका छन्,’ डीएसपी शाहले भने, ‘त्यही बेला कसैले मृत्यु भनेर सामाजिक सञ्जालमा राखेका हुन सक्छन्।’ शाहीका आफन्तहरुले विजय केही दिनदेखि मानसिक समस्यामा रहेको प्रहरीलाई बताएका छन्।
सुरुमा विजय विजय शाहीका शिक्षक दिपकबहादुर शाहीले मृत्युको खबर फेसबुकमा पोष्ट गरेका थिए। शिक्षक दीपकले भने अहिले उक्त पोष्ट हटाइसकेका छन्। दिपकले सामाजिक सञ्जालमा राखेको तस्विरमा उनी मृत्यु भएको जस्तो देखिन्छ। त्यही तस्विरकै आधारमा अधिकांशले हार्दिक श्रद्धाञ्जली दिएका थिए।
अमेरिकी नागरिक मेमोरी मास्टर नेल्सन डेलिसले आफू विजय शाहीबाट ठगिएको भिडियो राखेपछि उनी विवादमा तानिएका छन्। नेल्सनले नेपालको सगरमाथा क्षेत्र आएको समयमा विजयसँग अन्तरवार्ता दिएका थिए। तर नेल्सनसँगले अप्रिल १९ (वैशाख ६ गते) आफू ठगिएको भिडियो राखेपछि विजय विवादमा तानिएका हुन्।