काठमाडौं- बढी भार बोक्ने ढुवानीका सवारी साधनलाई कारबाही गर्ने गरी सरकारले कार्यविधि ल्याउने तयारी गरेको छ। यातायात व्यवस्था विभागले भारवहन क्षमता नियमन कार्यविधिको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको जानकारी दिएको हो।
मस्यौदामा ढुवानी सवारी साधनले निश्चित तौलभन्दा बढी तौल बोक्न नहुने व्यवस्था गरिएको छ। तोकिएको तौल भन्दा बढी तौल बोकेको पाइएमा जरिवाना गर्ने गरी कार्यविधिको मस्यौदा बनाएर मन्त्रालयमा पठाइएको विभागको भनाइ छ।
यसअघि नै सरकारले चैतदेखि मुलुकका २ ठाउँमा तौल पुल सञ्चालनमा ल्याएको छ। चितवनको आपटारी र महोत्तरीको बर्दिवासमा तौल पुल सञ्चालनमा छन्। तौलपुल सञ्चालनमा ल्याएपनि बढी भार बोक्ने सवारीलाई कस्तो कारवाही गर्ने भन्ने सम्बन्धमा व्यवस्था थिएन।
गत चैतमा सूचना सार्वजनिक गर्दै तोकिएभन्दा बढी भार बोकेको पाइएमा सम्बन्धित स्थानमा नै सवारी साधनबाट सामाग्री झारिने, यसबाट उत्पन्न हुने सबै किसिमका परिस्थति वा नोक्सानीको व्यवसायी स्वयं जिम्मेवार हुने तथा जरिवानासमेत हुने उल्लेख गरेको थियो। कार्यविधि कार्यान्वयनमा आएपछि मात्र बढी भार बोक्ने सवारीलाई कारबाही गर्न सहज हुनेछ।