धनगढी– धनगढी उपमहानगरपालिकाले नगरभित्र कोभिड खोप लगाउने कार्यलाई व्यवस्थित गर्न घरघरमा गएर नाम दर्ता गर्न थालेको छ।
अनलाइन नामदर्ताका लागि उपमहानगरपालिकाले १९ वटै वडामा स्वयंसेवक परिचालन गरेको छ।
‘खोप लगाउनबाट कोही वञ्चित नहोऊन् भनेर घरमै पुगेर १८ वर्षमाथिका व्यक्तिहरुको नामदर्ता सुरु गरेका छौं’, धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले भने, ‘नामदर्तापछि खोप लगाउने कार्य पनि व्यवस्थित हुनेछ।’ धनगढी उपमहानगरपालिकाले साउन ६ गतेबाट घरघरमा पुगेर अनलाइन नामदर्ता अभियान सुरु गरेको थियो। नाम दर्ता गराउने अभियानमा ४० जना स्वयंसेवक खटाइएको मेयर वडले बताए।
साउन मसान्तसम्म धनगढी उपमहानगरपालिकाले १ लाख ५० हजार जनाको नामदर्ता गरिसक्ने लक्ष्य लिएको छ। वडाहरुका साथै जिल्ला प्रशासन कार्यालय कैलाली, जिल्ला मालपोत, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका परिसर र धनगढी चौराहामा समेत अनलाइन दर्ताका लागि स्वयंसेवक खटिएका छन्।
धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले अनलाइन नामदर्ताका लागि खटिएका स्वयंसेवकलाई आफ्नो विवरण सहयोग गर्न नगरवासीमा अनुरोध गरेकी छन्।