काठमाडौं- बलात्कार प्रयासको मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाई पाएका छन।
उच्च अदालत पाटनका माननीय न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महरालाई सफाई दिने काठमाडौं जिल्ला अदालतको फैसला सदर भएको हो।
२०७६ असोज १२ गते राति सभामुख भएकै अवस्थामा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको थियो। रोशनीले त्यसपछि प्रहरीमा बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्।
महराले आफूमाथि कुटपिटसमते गरेको बताएकी थिइन्। उनले मिडियामा समेत महराले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले भने आफूमाथि लगाइएका सबै आरोप झुठो भएको बताएका थिए।
रोशनीका उजुरीका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा चलाएको थियो। पछि काठमाडौं जिल्ला अदालतले उनलाई सफाइ दिएको थियो। काठमाडौं जिल्ला अदालतको फैसलालाई उच्च अदालतले समेत सदर गरिदिएको छ।
आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख महराले २०७६ असोज १४ गते पदबाट राजीनामा दिएका थिए। असोज १९ गते पक्राउ परेका महरा करिब ५ महिना जेलमा बसेपछि फागुन ५ गते सफाइ पाएपछि रिहा भएका थिए।