काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले नयाँ सरकारलाई केपी ओली नेतृत्वको सरकारले झैं कुनै पनि अपराध गर्न छुट नभएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै थापाले अघिल्लो सरकारले झैं नयाँ सरकारले अपराध गर्न नमिल्ने बताएका हुन्।
उनले संसद् पुनःस्थापना र सरकारले विश्वासको मत प्राप्त गरेसँगै नयाँ अध्याय सुरु भएको बताए। ‘पुनःस्थापित संसदमा सरकारले विश्वासको मत पाएसँगै नयाँ अध्याय सुरु भएको छ। सरकार र संसद्सँग अपेक्षा छन्। संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने। जनताको दुहाइ दिने तर आसेपासे पोस्ने । बाहिर सिंह जस्तो गर्जने भित्र लम्पसार पर्ने। यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार,’ उनले भने, ‘नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट छैन। यस्तो हुन नदिन संसद्ले पनि संकल्प गर्नुपर्ने छ।’
उनले सरकारले संसदलाई वेवास्ता गर्ने अवस्था आउन नदिइने बताए। ‘सरकारलाई न यो संसद्को वेवास्ता गर्न नदिइनेछ। न त काम विहिन बनाउन दिइनेछ। न मनोमानी ढंगले स्थगित गर्न दिइनेछ, न त छल्न,’ उनले भने, ‘यो संसद सरकारसँग डराउने होइन। सरकार यो संसदसँग डराउनुपर्नेछ। सांसदको प्रश्न र संसदको निगरानीसँग डराउनुपर्ने छ।’ उनले प्रधानमन्त्रीसँगै सभामुखको पनि परीक्षा हुने बताएका छन्।
‘परीक्षा प्रधानमन्त्रीको मात्रै होइन। सभामुखको पनि छ। संसद जोगाउन लाग्ने प्रत्येक सांसदको छ। संविधानको धाराले प्रतिनिधिसभा पुर्नस्थापना भयो अनि संसद्को अधिकारले सरकार,’ उनले भने, ‘ अब सभामुख र हाम्रो कर्मले संसद र संविधानप्रति गुमेको जनविश्वासलाई पुनःस्थापित गर्नुपर्नेछ।’