काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील छानबिन समिति अन्य दलबाट पार्टी प्रवेश गरेका नेता कार्यकर्ताको क्रियाशील सदस्यतामा सहमति जुटाउन असफल बनेको छ। समितिले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन अनुसार १२ जिल्लामा अन्य दलबाट कांग्रेस प्रवेश गरेको नेताकार्यकर्ताको क्रियाशील सदस्यतामा सहमति जुट्न नसको उल्लेख छ।
समितिले ती जिल्लामा पार्टी प्रवेश गरेका नेताकार्यकर्ताको क्रियाशील सदस्यता टुंगो लगाउने जिम्मा नेताहरुमै फर्काएको छ।
‘अन्य राजनीतिक दल समायोजन समितिद्वारा स्वीकृत गरी केन्द्रीय समितिको निर्णयअनुसार क्रियाशील सदस्य समायोजनका लागि सदस्यता फाराम र नामावलीको सूचीसहित जिल्लामा पठाइएको नमावलीमध्ये कतिपय जिल्लाबाट प्रक्रियागत रूपमा केन्द्रमा आइपुगेका नामावलीका सम्बन्धमा र कतिपय जिल्लामा प्रक्रियामै समावेश नगरिएका कारण विवाद कायम रहेकोमा समितिले त्यस्ता विवाद निरुपणका लागि अत्यन्तै प्रयास गर्दासमेत समितिमा सहमति कायम हुन सकेन,’ प्रतिवेदनमा उल्लेख छ, ‘सोही कारण यस समितिको मापदण्डको बुँदा नम्बर ६ (ख) (२) बमोजिम उक्त विषयलाई पनि आवश्यक निर्णयका लागि पार्टी नेताहरुको तहमा पठाइएको छ।’
कहाँ–कहाँ जुटेन सहमति?
मोरङ : तत्कालीन राप्रपाका नेता र सदस्यको समोयोजन र तत्कालीन नयाँ शक्ति पार्टीका नेता र सदस्यको समायोजन।
डोल्पा : केन्द्रीय सदस्य कर्ण बुढासहित तत्कालिन राप्रपाका नेता एवम् सदस्यको समायोजन।
बाग्लुङ : काठेखोला गाउँपालिका वडा नम्बर ४ र १, बाग्लुङ नपा वडा नम्बर ११ मा विभिन्न दलबाट प्रवेश गरेका सदस्यको समायोजन।
सर्लाही : केन्द्रीय सदस्य जंगिलाल राय, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कृष्णदेव यादवसहितका नेताहरु एवम् तत्कालीन जनता समाजवादी पार्टी, संघीय समाजवादी फोरम लगायतका दलका नेता एवम् सदस्यको समायोजन।
सिन्धुपाल्चोक : केन्द्रीय सदस्य विष्णुविक्रम थापासहित तत्कालीन राप्रपाका नेता एवम् सदस्यको समायोजन।
कैलाली : आमन्त्रित केन्द्रीय सदस्य मोहनसिंह ठाकुर र उनीसँगै प्रवेश गरेका सदस्यको समायोजन।
काठमाडौं : क्षेत्र नम्बर ३ अन्तर्गत कामनपा–६, गोकर्णेश्वर–५ र ८, तत्कालीन नेपाल लोकतान्त्रिक फोरम, राप्रपा र सम्बद्ध पार्टीको समायोजन।
काभ्रे : तत्कालीन राप्रपा र अन्य दलका सदस्यको समायोजन।
सुनसरी : तत्कालीन राप्रपाका नेता एवम् सदस्यको समायोजन।
कपिलवस्तु : आमन्त्रित केन्द्रीय सदस्य अभिषेकप्रताप शाह र उनीसँगै प्रवेश गरेका सदस्यको समायोजन।
सुर्खेत : नेपाल अखण्ड पार्टी र अन्य पार्टीबाट प्रवेश गरेका सदस्यको समायोजन।
बाजुरा : विभिन्न राजनीतिक दलबाट प्रवेश गरेका सदस्यको समायोजन।
यस्तै समितिले धनुषा क्षेत्र नम्बर ४ र सर्लाही क्षेत्र नम्बर २ को नयाँ क्रियाशील सदस्यताका विषयमा समितिले निर्णयमा पुग्न नसकेको भन्दै आवश्यक निर्णयमा पुग्न शीर्ष नेताहरुलाई आग्रह गरेको छ।