काठमाडौं– नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
रमेश लेखक नेतृत्वको समितिले मंगलबार देउवालाई प्रतिवेदन बुझाएको हो। देउवाको निजी निवास बूढानीलकण्ठमा जारी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा समितिले प्रतिवेदन बुझाएको हो।
तर, प्रतिवेदन बुझाउने क्रममा समितिमा सहमति भने जुट्न सकेन। समितिका सदस्य कल्याण गुरूङले प्रतिवेदनमा नोट अफ डिसेन्ट लेखेका छन्। छानबिनको काम नसकिई र विवाद समाधन नभई प्रतिवेदन बुझाइएको भन्दै गुरुङले नोट अफ डिसेन्ट लेखेका हुन्।
समितिले सुल्झन नसकेको क्रियाशील विवाद १५ औं महाधिवेशनका लागि थाति राख्ने गरी प्रतिवेदन बुझाएको बताइएको छ। प्रतिवेदनमा आठ लाख ५२ हजार सात सय ११ जना क्रियाशील सदस्यको विवरण छ।