काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले अघि सारेको संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव आपत्तिजनक रहेको जनाएको छ।
महासंघका अध्यक्ष जगत बरामले विज्ञप्ति जारी गर्दै यसबारे गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, मुलुकलाई अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनीतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको महासंघको ठहर छ।’
महासंघले संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारलाई आग्रहसमेत गरेको छ। ‘अन्यथा भएमा नेपाली जनताले कारबाही गर्ने व्यहोरा व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।