बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्न सम्झौता, २०७९ वैशाखसम्ममा आइपुग्ने

किशोरकिशोरीका लागि ६० लाख फाइजर खोप किन्न सम्झौता, २०७९ वैशाखसम्ममा आइपुग्ने

सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने सम्झौता गरेको छ।
 |  मंगलबार, साउन १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १२, २०७८

काठमाडौं- सरकारले ६० लाख डोज फाइजर खोप खरिद गर्ने सम्झौता गरेको छ। अमेरिकाको फाइजर एन्ड बायोनटेक कम्पनीले उत्पादन गरेको खोप खरिदका लागि सम्झौता भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले बताए।

'सरकारले १२ देखि १८ वर्ष उमेर समूहका नागरिकलाई लक्षित गरेर खोप खरिद गर्न लागेको हो,' उनले भने। डा. अधिकारीका अनुसार करिब ५० लाख जनसंख्यालाई लक्षित गरेर सरकारले ६० लाख खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ। 

यसका अलावा असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आउने निश्चित भएको छ।  सोमबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य मन्त्रालयका अधिकारीले यस्तो जानकारी दिएका हुन्।

मन्त्रालयका अनुसार कोभ्याक्सको समन्वयमा उक्त खोप ल्याउने तयारी भएको छ। मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख डा. गुणराज लोहनीले  कोभ्याक्सअन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज भदौ पहिलो साता र कोभ्याक्स अन्तर्गतकै थप ३ लाख ४८ हजार डोज भदौ चौथो साता आइपुग्ने बताए।

यस्तै, वैदेशिक अनुदानबाट साउन अन्तिम साता १६ लाख आउने, खरिद प्रक्रियाबाट भारतमा खरिद गरेको कोभिसिल्ड १० लाख डोज भदौ दोस्रो साता आइपुग्ने र भेरोसेल भदौ मसान्तसम्म थप ६० लाख आउने उनले जानकारी दिए।

मन्त्रालयका प्रवक्ता डा. अधिकारीले यसका अलावा ६० लाख खोप खरिद गर्न फाइजरसँग सम्झौता भइसकेको छ। थप ४० लाख डोज भने कोभ्याक्सअन्तर्गत साझेदारी सहुलियतमा ल्याउने गरी प्रस्ताव तयार भएको छ।

फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको प्रवक्ता अधिकारीले बताए।

खोप आउन ६ देखि ९ महिना लाग्ने अनुमान सरकारको छ। सरकारले पुससम्म खोप उपलब्ध गराउन आग्रह गरे पनि कम्पनीले ढिलोमा सन् २०२२ को अप्रिल अर्थात् २०७९ वैशाखसम्म दिन सक्ने जनाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

फाइजर कम्पनीबाट खोप खरिद गर्न आवश्यक रकमका लागि विश्व बैंकसँग ऋण सम्झौताको तयारी भइरहेको प्रवक्ता अधिकारीले बताए। ठूलो मात्रामा खोपको सुनिश्चितता भएकाले अब खोपको अभाव नहुने उनले जानकारी दिए।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत अर्थात् पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ। यसका लागि दुई मात्रा खोपका हिसाबले कुल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने सचिव लक्ष्मण अर्यालले जानकारी दिए। उनका अनुसार आउँदो असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्यमध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने लक्ष्य सरकारको छ। 

अहिलेसम्म खोपको पहिलो मात्रा १५.८ प्रतिशत अर्थात् ३४ लाख पाँच हजार १५४ र दोस्रो मात्रा ६.६ प्रतिशत अर्थात्् १४ लाख ३० हजार ४१६ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ। नेपालमा ९७ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ।

तीमध्ये कोभ्याक्स सुविधामार्फत १८ लाख ८२ हजार ८५० (भारतबाट कोभिसिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोन्सन एन्ड जोन्सन १५ लाख ३४ हजार ८५० मात्रा), वैदेशिक अनुदानबाट २९ लाख, चीनबाट १८ लाख र भारतबाट ११ लाख मात्रा छन्। यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ। भारतबाट कोभिसिल्ड  १० लाख मात्रा र चीनबाट भेरोसेल ३२ लाख मात्रा रहेको छ। 

प्रकाशित: Jul 27, 2021| 02:20 मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।