काठमाडौं- कैलालीमा जारी निषेध आदेश साउन २१ गतेसम्मका लागि लम्बिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार निषेध आदेश थपिएको बारे सूचना जारी गर्दै जानकारी गराएको छ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार परीक्षा सञ्चालन हुने हल वा कोठाको आकारअनुसार एउटामा २५ जनाभन्दा बढी भेला नहुने गरी सञ्चालन गर्न पाइने छ।
परीक्षार्थीहरू हलमा प्रवेश गर्नु पूर्व र परीक्षा समाप्त भएपछि भौतिक दूरी कायम गर्नुपर्ने, एउटा सिफ्टको परीक्षा सकिएर पूर्णरूपमा परीक्षार्थी बाहिरिएपछि अर्को सिफ्ट सञ्चालन गर्नुपर्ने, परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने आदेश प्रशासनले दिएको छ।
विभिन्न गोष्ठी तथा तालिम, सेमिनार, बैठक, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गराउने, भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्था भए २५ जनामध्ये बढी मानिस सहभागी नगराउने, घर बाहिर निस्किँदा अनिवार्य दुई मिटरको दूरी कायम गर्दै मास्कको प्रयोग गर्न पनि आदेशमा उल्लेख गरिएको छ।
जनस्वास्थ्यका मापदण्डको पालन गरेर मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालन गर्न पाइने तर त्यस्ता सवारीसाधनले यात्रुहरूको नामावली र सम्पर्क नम्बरहरु प्रस्थान बिन्दु र गन्तव्य बिन्दुका ट्राफिक प्रहरी पोष्टमा अनिवार्य टिपाउनुपर्ने व्यवस्था गरिएको छ।
